धरौटी नतिरेपछि विप्लव नेकपाका २१ नेता जेल चलान

0
Shares

नरेन्द्र केसी, दाङ।

संगठितरूपले राज्यविरुद्धको अपराध गरेको मुद्दा चलाइएका विप्लव नेतृत्वको नेकपाका २१ जना नेता कार्यकर्तालाई दाङ जिल्ला अदालतले जनही १५–१५ हजार रुपियाँ धरौटीमा हिरासतमुक्त गरेको छ।

जिल्ला न्यायाधीश रितेन्द्र थापाको इजलासले विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज ५९ वर्षीय चन्द्रबहादुर चन्द, राप्ती ब्युरो इन्चार्ज ५४ वर्षीय केशवबहादुर बाँठा, युवा संगठनका केन्द्रीय अध्यक्ष ३१ वर्षीय दीपकराज सेर्पाली, समूहका रोल्पा जिल्ला इन्चार्ज ३८ वर्षीय सन्तोष सुवेदी, राप्ती ब्युरो सदस्य ६५ वर्षीय रामबहादुर थापा, दाङ जिल्ला इन्चार्ज ४६ वर्षीय यमलाल कटुवाल, दाङ जिल्ला सेक्रेटरी ३९ वर्षीय प्रदीपबहादुर वली, सल्यान जिल्ला इन्चार्ज ५२ वर्षीय डिल्लीराज शर्मा, पश्चिम रुकुम सेक्रेटरी २८ वर्षीय चन्द्रबहादुर बुढा र विशेष जिल्ला सेक्रेटरी ३३ वर्षीय पुस्तमान घर्तीलाई रिहा गर्ने आदेश दिएको हो।

त्यस्तै अदालतले विशेष जिल्ला इन्चार्ज ५८ वर्षीय दलबहादुर खत्री, राप्ती ब्युरो कार्यालय सचिव ३९ वर्षीय सविन पोख्रेल, थवाङ स्वायत्त क्षेत्र सेक्रेटरी ३५ वर्षीय अमित घर्तीमगर, थवाङ स्वायत्त क्षेत्र इन्चार्ज ४३ वर्षीय हितप्रसाद रोका, अखिल नेपाल किसान संघ दाङका अध्यक्ष ४३ वर्षीय एकराज चौधरी, दलित मुक्तिमोर्चा दाङका अध्यक्ष ३३ वर्षीय सुरज परियार, युवा संगठनका केन्द्रीय सदस्य ३९ वर्षीय तिलक पुन, राजपुर गापा इन्चार्ज ३७ वर्षीय धनबहादुर बोहरा, पार्टी सदस्यहरू ३१ वर्षीय विष्णुबहादुर रावत, ३४ वर्षीय कुलबहादुर वली र ४९ वर्षीय इन्द्रबहादुर वलीलाई सोमबार धरौटीमा छोड्न आदेश दिएको छ।

प्रहरी हिरासतमा ६६ दिन बसेका उनीहरूलाई हिरासतमुक्त गरे पनि १५/१५ हजार धरौटी नबुझाएपछि कारागार चलान गरिएको छ। कारागार चलान गरिएकाहरूले अदालतमा धरौटी बुझाए जुनकुनै दिन कारागारमुक्त हुन सक्नेछन्।

पार्टीको राप्ती ब्युरोस्तरीय बैठक बसिरहेको बेला दाङको राजपुर गाउँपालिका–४ बाट प्रहरीले गत असोज ३० गते चन्दसहित २१ जना नेता कार्यकर्तालाई पक्राउ गरी विभिन्न व्यक्तिलाई राज्यविरुद्धको संगठित अपराधसहित छुट्टाछुट्टै तीनवटा मुद्दा चलाएको थियो।

पक्राउ परेका २१ जनाबाट बरामद गरिएका नगद तथा जिन्सी सामानलाई जिल्ला अदालतले आवस्यक परेका बेला उपलब्ध गराउने गरी सम्बन्धित व्यक्तिलाई नै फिर्ता गराउन आदेश दिएको छ।

अदालतको आदेशअनुसार सोमबार चन्द्रबहादुर चन्दबाट बरामद गरिएको ३ लाख २१ हजार ५ सय नगद तथा एक थान सवारी दर्ता किताव, केशवबहादुर बाँठाबाट बरामद गरिएको ११ हजार ३० रुपियाँ नगद तथा दीपकराज सेर्पाली र तिलकबहादुर गुरुङबाट बरामद गरिएको ५२ हजार नगद र संयुक्त चेकबुक दुई थान, दीपकको नाममा रहेको २ थान चेकबुक सम्बन्धित व्यक्तिलाई बुझाइएको छ भने मोबाइल भने परीक्षणका लागि काठमाडौं पठाइएकाले उपलब्ध गराइएको छैन।