प्राधिकरणको नयाँ काम खोपासीमा सब स्टेशन, विजुली जिल्लामै खपत हुने


मोतीराम तिमल्सिना, काभ्रे । 

काभ्रेको पनौती नगरपालिका खोपासीमा रहेको नेपालकै दोश्रो जलविद्युत्तबाट उत्पादन हुने बिजुली जिल्लामै खपत हुने गरी पूर्वाधार निर्माण कार्य शुरु भएको छ । खोपासीमा बन्ने सब स्टेशन पछि त्यहाँ उत्पादन भएको बिजुली जिल्लामै खपत गरिनेछ ।

काभ्रेको २८ किलोमा रहेको सब स्टेशनले जिल्लाका विभिन्न स्थानमा विद्युत्त सप्लाई हुँदै आएको थियो । जिल्लामा ६६ केभीको सप्लाई हुँदा कतै तार चुड्दा १८ घण्टासम्म विजुली बत्ति प्रयोगमा आउन सकेको थिएन । जिल्लाबासीहरुलाई अँध्यारोबाट मुक्त गर्न त्यसको बैकल्पिक ब्यवस्थापका लागि विद्युत्त प्राधिकरण काभ्रे शाखाले पनौतीको खोपासीमा सब स्टेशन राख्ने प्रस्ताव गरेको थियो । सोहि प्रस्ताव अनुसार विद्युत्त प्राधिकरणले उक्त क्षेत्रमा सब स्टेशन निर्माण गर्ने गरी बजेट विनियोजन गरेको विद्युत्त प्राधिकरण काभ्रे शाखाका प्रमुख रञ्जनराज गुरुङ्गले बताउनु भयो । पनौतीको खोपासीमा बन्ने उक्त सब स्टेशनमा ३ एम भि एको ३३÷११ केभीको सप्लाईका लागि आवश्यक पुर्वाधार निर्माण हुनेछ ।

नेपाल विद्युत्त प्राधिकरण काभ्रे शाखाले आक्रामक शैलीमा विद्युत्त चुहावट नियन्त्रण, मर्मत सम्भारको कार्य गरिरहेको छ । कार्यालय प्रमुख रञ्जनराज गुरुङ्गले बक्यौता असुल, चोरी नियन्त्रण, मक्किएका पोलहरुको मर्मत लगायतका कार्यहरु निरन्तर गरिरहेको बताउनु भयो । चुहावट नियन्त्रण टोलीले बेथानचोक लगायत विभिन्न स्थानहरुमा छड्के चेकजाँच गर्ने क्रममा दुग्ध तथा तरकारी सहकारी संस्था, घर आदिबाट चुहावट गरेका बिभिन्न ग्राहकहरुबाट चोरीमा प्रयोग गरिएका सामानहरु बरामद गरेको छ ।

त्यस्तै धुलिखेल २ रविओपी लगायत विभिन्न स्थानहरुमा नियमित छड्के चेकजाँच गर्दा बिजुली अनाधिकृतरुपमा चोरी गरेको गरिरहेको विद्युतीय सामाग्रीहरु जफत भएको छ । त्यसैगरी अन्य ग्राहकहरुलाई चेतावनी दिने र घरमा जडान हुकिङ तारहरु हटाईएको छ ।