चौथो जितसँगै चितवन फाइनलतर्फ

0
Shares

विजय नेपाली, पोखरा।

दोश्रो संस्करणको पोखरा प्रिमिएर लिग (पीपीएल) अन्तर्गत चितवन राइनोजले लगातार चौथो जित हात पार्दै फाइनलतर्फ अग्रसर भएको छ। आइतबार भएको खेलमा चितवनले विराटनगर टाइटान्सलाई २८ रनले हराएको हो।

योसँगै टोली ८ अंकका साथ शीर्ष स्थानमा कायमै रह्यो। पोखरा क्रिकेट मैदानमा भएको खेलमा १ सय ४७ रनको लक्ष्य दिएको चितवनले विराटनगरलाई १ सय २८ रन समेटेको थियो। शुरुआत राम्रो हुन नसकेपछि विराटनगर लक्ष्यभन्दा पछाडि परेको थियो।

ओपनरद्वय सुनिल धमला ५ रनमा र मुहम्मद जैद आलम १ रनमा आउसट भएका थिए। यसपछि टोलीका लागि लोकेश बमले सर्वाधिक ६२ रन बनाएका थिए। ५ चौका र ५ छक्काको सहयोगमा उनले अद्र्धशतक प्रहार गरे पनि जितका लागि भने पर्याप्त भएन।

लोकेशलाई करण केसीले अनिल शाहद्वारा क्याच आउट गराएका थिए। त्यसपछि पुनित मेहराले २४ रनको योगदान दिनुबाहेक अन्यले निरस प्रदर्शन गरेका थिए। चितवनका लागि भुवन कार्की र करण केसीले सर्र्वािधक ३ विकेट लिँदा रोहन मुस्तफा २ विकेट लिए। सन्नी पटेलले एक विकेट हात पारे।

यसअघि टस हारेर ब्याटिङ गरेको चितवनले ४ विकेटको क्षतिमा १ सय ४६ रन बनाएको थियो। टोलीका लागि आरिफ शेखले सर्वाधिक ३९ रन बनाए। आरिफले २२ बलमा ३ चौका र ३ छक्का प्रहार गरेका थिए। कप्तान पारस खड्काले ५ चौकाको मद्दतमा ३५ रन बनाए।

उनलाई जैद आलमले आउट गरेका थिए। अन्यमा सन्नी पटेलले ८ बलमै २७ रन र बाबार ह्यातले २५ रन जोडेका थिए। विराटनगरका लागि जितेन्द्र मुखिया, मुहम्मद जैद आलम, पुनित मेहेरा, किशोर महतोले समान १÷१ विकेट हात पारे।