क्युबामा चालिस वर्षपछि पहिलो प्रधानमन्त्री

0
Shares

हवाना, (एजेन्सी)।

क्युबाको इतिहासमै झन्डै चालिस वर्षभन्दा लामो समयपछि आइतबार त्यहाँका राष्ट्रपति मिगेल डियाज क्यानलले पर्यटन मन्त्री म्यानुयल मार्रेरो क्रुजलाई राष्ट्रको पहिलो प्रधानमन्त्री नियक्त गरेका छन्। सन् १९७६ मा क्रान्तिकारी नेता फिडेल क्यास्त्रोले प्रधानमन्त्री पद नै हटाएका थिए।

यसै वर्षको शरूमा पारित भएको कम्युनिस्ट राष्ट्र कयुवाको नयाँ संविधानअनुसार प्रधानमन्त्री पल पुनस्र्थापित गरिएको हो। ५६ वर्षीय म्यार्रेरो अब हालसम्म राष्ट्रपतिको हातमा रहेका केही अधिकार बहन गर्ने भएका छन्। सरकारी अनलाइन न्युज आउटलेट क्युबा डिवेटले सरकार प्रमुख प्रधानमन्त्री गणतन्त्र क्युवाका राष्ट्रपतिको प्रशासकीय दाहिने हात रहने जनाएको छ।

तर अधिकांश राजनीतिक समिक्षकले क्युबाको वास्तविक निर्णायक निकाय क्युबाली कम्युनिस्ट पार्टी र सेना रहेकाले यो परिवर्तन केबल आलंकारिक मात्र रहेको जनाएका छन्।

म्यार्रेरोको नियुक्तिलाई शनिबार राष्ट्रिय सभाका विधायकले सर्वसम्मतले अनुमोदन गरेका थिए। सरकारी अखाबार ग्रान्माले म्यार्रेरोलाई पर्यटन उद्योगबाट उदय भएका राजनीतिज्ञ भएको जनाएको छ।

पर्यटन व्यवशाय क्युबाको विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोतमध्ये एक हुन्। सन् २००० मा उनलाई सेनाद्वारा सञ्चालित पर्यटन समूह गाभिओताको अध्यक्ष बनाइएको थियो।

उनलाई सन् २००४ मा फिडेल क्यास्त्रोले पर्यटनमन्त्री बनाएका थिए। फिडेल क्यास्त्रोको नेतृत्वमा सन् १९५९ मा भएको कम्युनिस्ट आन्दालेनले तत्कालीन क्युबाली सरकार अपदस्थ गरेको थियो। त्यसपछि क्यास्त्राले आफैंलाई प्रधानमन्त्री घोषित गरेका थिए।