राष्ट्रपति घानीले दोस्रो कार्यकाल जित्ने सम्भावना

0
Shares

काबुल, (एजेन्सी)।

अफगानिस्तानको चुनावको प्रारम्भिक नतिजाले अफगान राष्ट्रपति असरफ घानीले दास्रो कार्यकाल जित्ने अनुमान गरिएको छ। उनले साँघुरो बहुमत प्राप्त गर्ने बताइएको छ। सरकारी अधिकारीले घानीले २८ सेप्टेम्बरमा सम्पन्न चुनावमा ५० दशमलव ६४ प्रतिशत मत प्राप्त गरेको बताएका छन्।

विरोध प्रदर्शन र चुनावी धाँधलीको अरोपका कारण चुनाव परिणाममा ढिलाइ भइरहेको हो। घानीका प्रमुख प्रतिद्वन्द्वी डा. अब्दुल्लाह अब्दुल्लाहले ३९ दशमलव ५२ प्रतिशत मत प्राप्त गरेका छन्।

तर अब्दुल्लाहले यो परिणाम अस्वीकार गरेका छन्। साथै उनले अन्तिम परिणाम सार्वजनिक हुनुअघि नै चुनाव प्रक्रियाविरुद्ध मुद्दा दायर गर्ने अनुमान गरिएको छ।

डा. अब्दुल्लाहको समर्थक टोलीले आइतबार निकालेको एक विज्ञप्तिमा भनिएको छ ‘हामी फेरि स्पष्ट पार्न चाहन्छौं कि हाम्रा वैधानिक मागको सम्बोधन नभएसम्म हामी यस धाँधलीपूर्ण चुनाव स्वीकार गर्दैनौं।’

डा. अव्दुल्लाहले करिब ३ लाख मत विवादास्पद रहेको दाबी गरेका छन्। अन्तिम चुनावी नतिजा सार्वजनिक हुन हप्तौं लाग्न सक्छ। पाँच वर्ष अगाडि भएको राष्ट्रपतीय चुनावमा पनि घानी र डा. अब्दुल्लाहबीच लामो समयसम्म विवादास्पद चुनावी परिणामलाई लिएर तनाव चलेको थियो।

फलस्वरुप महिनौंसम्म अफगानिस्तानमा राजनीतिक अस्थिरता छाएको थियो। चुनावी प्रक्रयालाई समर्थन गरेका संयुक्त राष्ट्र संघले निर्वाचन आयोगलाई कुनै पनि गुनासो बाँकी नहुने गरेर पूर्णपारदर्शिता अपनाउन आह्वान गरेका छन्।