बृहत् संयुक्त घुम्ती स्वास्थ्यशिविर सम्पन्न

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाली सेनाको सहकार्यमा सिरहा, सिन्धुली, महोत्तरी, सर्लाही र धनुषा जिल्लाका स्वास्थ्य उपचार पाउन नसकेका विरामीहरूलाई लक्षित गरी महोत्तरीको सोनमा गाउँपालिका,३ स्थित खकना उच्च माध्यमिक विद्यालयमा (मुख्य क्याम्प) तथा सदरमुकाम जलेश्वरस्थित जलेश्वर अस्पतालमा सर्जिकल क्याम्प स्थापना गरी सञ्चालन गरिएको निःशुल्क संयुक्त शल्य चिकित्सा घुम्ती स्वास्थ्य शिविर आईतबार सम्पन्न भएको छ।

उक्त घुम्ती स्वास्थ्य शिविरको समुद्घाटन नेपाल सरकारका पूर्व माननीय स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्रकुमार यादवले गर्नु भएको थियो भने प्रदेश नं.२ का मुख्यमन्त्री लालबाबु राउतले समापन गर्नु भएको छ।

उक्त समापन कार्यक्रममा मुख्यमन्त्री राउतले उक्त घुम्ती स्वास्थ्य शिविरको स्वास्थ्य उपचार सम्बन्धी गतिविधिहरूको जानकारी लिनु भइ प्रदेश नं.२ का चिकित्सा सेवाको पहुँच पुग्न नसकेको मुसहर बस्तीलगायत पिछडिएका ग्रामिण स्थानहरू पहिचान गरी निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराएको र उक्त कार्यबाट सर्वसाधारणहरू लाभान्वित भएकोमा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाली सेनालाई धन्यवाद दिनु भएको थियो।

नेपाली सेनाको सीमित स्रोत र साधनको बाबजुद पनि हालसम्म कै सबैभन्दा बृहत संयुक्त घुम्ती स्वास्थ्य शिविर सञ्चालनकै बीच नेपाली सेनाका दक्ष चिकित्सकको टोलीले सोनमा–७ को मुसहर र डोम समुदायको बस्तीमै गएर स्वास्थ्य जाँच तथा उपचार सेवा दिएको थियो।

दलित बस्तीमा स्वास्थ्य जाँच गरिएका दुई हजार ५०० मध्ये २५० जनालाई शिविरमा ल्याएर थप उपचारसमेत गरिएको थियो। सेनाको टोलीले घरघरै पुगेर उपचार सेवा दिएपछि बल्ल आफूहरूलाई हेर्ने पनि कोही रहेछन् भन्ने लागेको दलित बस्तीका मुसहरहरूको भनाइ रहेको छ।

यसैबीच नेपाली सेनाको टोलीले सोनमा गाउँपालिकाका सबै बस्तीमा डेंगुको समस्या आउन नदिन विषादी छरेको थियो। शिविरको तालिकाभित्रको काम नभए पनि नेपाली सेनाको प्रयत्नले पनि डेंगु आउन नदिन पूर्वसजगता अपनाइन सकिने सन्देश प्रवाह गर्न थप काम गरिएको थियो।

प्रदेश नं. २ को सिरहा, सिन्धुली, महोत्तरी, सर्लाही र धनुषा जिल्लाका सर्वसाधारणलाई लक्षित गरी निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त घुम्ती स्वास्थ्य शिविरमा ३२९ जनाको सफल शल्यक्रिया गरिएको साथै जनरल मेडिसिन, स्त्री रोग, आँखा, नाक, कान, घाँटी, चर्म रोग, हाडजोर्नी, बालरोग, स्वास–प्रश्वास, मानसिक रोग, हर्निया, हाईड्रोसिललगायत विभिन्न रोगका करिब ३४ हजार १ सय ७२ स्थानीय बासिन्दाहरू लाभान्वित भएका छन्।

यस किसिमको घुम्ती स्वास्थ्य शिविरले स्थानीय तहमा रहेका बिरामीहरूलाई निःशुल्क शल्यक्रिया तथा औषधीसहितको उपचार सेवा प्रदान गरी स्वास्थ्य समस्यालाई केही हदसम्म भएपनि निवारण गर्न सहयोग सिद्ध हुन गइ सैनिक–नागरिकसम्बन्धलाई थप प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास नेपाली सेनाले लिएको छ।