मिथुन कुँवरको फोटो उत्कृष्ट

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं। 

नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानको उपकुलपतिको सचिवालयको आयोजना र वास्तुकला तथा अन्य सृजनात्मक कला विभागको सहकार्यमा आयोजित ‘सुन्दर नेपाल खुसी नेपाली’ प्रतियोगितामा पाल्पाका मिथुन कुँवरले खिचेको ‘पाल्पामा दशैंका लागि घरमा परम्परागत तरिकाले रङ लगाउँदै गरेका’े तस्वीरले प्रथम स्थान हासिल गरेको छ।

यसैगरी प्रवीण श्रेष्ठले खिचेको भक्तपुरमा बेल विवाहमा रमाउँदै गरेकी बालिकाको तस्बिरले दोस्रो स्थान हासिल गर्दा दयासागर केसीको पाटन दरबारक्षेत्रमा पुनर्निर्माणका लागि काठमा बुट्टा कुद्दै गरेको तस्रले तेस्रो स्थान प्राप्त गरेको छ। स्कन्द गौतमको कुहिरोभित्र देखिएको गुम्बाकोे तस्बिरले सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भएको छ।

नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानले नेपाली कलावृत्तमा देखिँदै आएका विविध कलाआयामलाई सम्बन्धन गर्दै आएको छ भने कलाविकास र यसको उन्नयनमा निरन्तर विविध काम गर्दै आएको छ।

यसैक्रममा ‘कला फोटोग्राफी’को विशिष्टीकरणका लागि प्रतिष्ठानले ‘सुन्दर नेपाल खुसी नेपाली’ शीर्षकमा फोटो प्रतियोगिता आयोजना गरेको थियो।

प्रतियोगिताका लागि देशभरबाट २२१ फोटोग्राफरका करिब १ हजार फोटोहरू प्राप्त भएका थिए। नेपालका वरिष्ठ फोटोग्राफर मणि लामाको अध्यक्षता तथा केयु स्कुल अफ आर्टका सहप्राध्यापक तथा वरिष्ठ कलाकार सुजन चित्रकार र स्पेस म्यागजिनका प्रमुख कार्यकारी अधिकृत तथा वरिष्ठ फोटोग्राफर अशेष राजवंशी सम्मीलित निर्णायकमण्डलले विजेतासहित उकृष्ट ७० वटा फोटोहरू छानेको हो।

यस प्रतियोगिताका प्रथमले ४० हजार रुपियाँ, द्वितीयले २५ हजार रुपियाँ, तृतीयले १५ हजार रुपियाँ र सान्त्वना स्वरूप १० हजार रुपियाँ पुरस्कार प्राप्त गर्नेछन्।

वरिष्ठ फोटोग्राफर अशेष राजवंशीले नेपालमा फोटोग्राफी संस्कृतिको विकास हुँदै छ भन्ने यस प्रतियोगिताले देखाएको बताउँदै फोटो खिच्ने हेर्ने तरिका र देखाउन खोजेको कुरा स्पष्ट पार्ने तस्वीर नै राम्रो हुने बताउनुभयो।

फोटोहरू राम्रो आएको छ, प्रथम हुने फोटोले सरल जनजीवन र खुशीलाई सरल रूपमा उतारिएको छ भने नेपाली परिवेश र मौलिकता झल्किएको केयु स्कुल अफ आर्टका सहप्राध्यापक तथा वरिष्ठ कलाकार सुजन चित्रकारले बताउनुभयो।

देशभरबाट प्राप्त फोटोहरूले नेपालको कलासंस्कृति, प्राकृतिक स्रोत, सम्पदा, समृद्धि, खुसी र सुख झल्कने फोटोहरू रहेको बताउँदै निर्णायकमण्डलका अध्यक्ष वरिष्ठ फोटोग्राफर मणि लामाले भन्नुभयो, ‘थिमअनुसार राम्रा तस्बिरहरू आएका छन्,’ तर हामीले जे छानेका छौं यसबाट म पूर्ण सन्तुष्ट छु।’

फोटोका सर्जकलाई राष्ट्रिय स्तरको प्रतियोगितामा समावेश गराउने मात्र नभई उत्कृष्ट सर्जकलाई पुरस्कारबाट प्रोत्साहित गर्ने र ‘कला फोटोग्राफी’को व्यापकतालाई अझ बढाउने यसको उद्देश्य रहेको प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकारले बताउनुभयो।

यसै क्रममा उहाँले फोटोग्राफीका क्षेत्रमा ख्यातिप्राप्त फोटोग्राफरहरूलाई समेत एकैथलोमा गोलबद्ध गर्ने सोच राख्दै यो प्रदर्शनीले हरेक वर्ष आयोजना गरिने राष्ट्रिय कला प्रदर्शनीलाई समेत सहयोग पुग्ने अपेक्षा गरेको बताउनुभयो।

प्रतियोगिताबाट छानिएका उत्कृष्ट ७० फोटोहरूको प्रदर्शनी यही आउदो पुस ११ गते नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानमा हुनेछ।