निजगढका रुख तत्काल नकाट्न सर्वोच्चको आदेश

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि तत्काल रुख कटान नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र कुमार रेग्मीको संयुक्त इजलाशले यस्तो आदेश गरेको हो। यसअघि न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले गरेको आदेशलाई आइतबार सर्वोच्चले निरन्तरता दिएको हो।

गत मंसिर २० गते न्यायाधीश मोक्तानको इजलाशले अर्को आदेश नआएसम्म रुख कटान नगर्न आदेश गरेको थियो। डा. द्वारिकानाथ ढुंगेल, डा. विजयकुमार सिंह दनुवार, रञ्जु हजुर पाँडे क्षेत्री, पंकजकुमार कर्ण, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीसहितले दायर गरेको रिटमा सर्वोच्चले विपक्षीका नाममा अन्तरिम आदेश जारी गरेको हो।

रिटमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, वन तथा वातावरण मन्त्रालय, प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, प्रदेश सरकार र प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरणलाई विपक्षी बनाइएको छ।

निजगढ विमानस्थलसँग सम्बन्धित वरिष्ठ अधिवक्ता प्रकाशमणी शर्माले दायर गर्नुभएको रिट पनि ढुंगेलसहितले दायर गरेको मुद्दासँगै सुनुवाई हुनेछ। निजगढ विमानस्थल निर्माण गर्ने तयारी गरिएको क्षेत्रको अधिकाँश भेग घना जंगलभित्र पर्ने ध्यानाकर्षण गराउँदै वातावरणविद् र अन्य सरोकारवालाले जथाभावी रुख नकाट्न पर्यटन र वन मन्त्रालयको ध्यानाकर्षण गराउँदै आएका छन्।

विमानस्थलका लागि तयार भएको वातावरण प्रभाव मूल्यांकन प्रतिवेदन (ईआईए) हुबहु कार्यान्वयन भएको अवस्थामा २४ लाख ५० हजार आठ सय २१ वटा रुख काट्नुपर्ने उल्लेख गरिएको छ।

विमानस्थल निर्माणको नाममा साल र अन्य बहुमूल्य प्रजातीका रुख विरुवा काट्न नहुने र वातावरणमा प्रतिकूल असर पुग्ने गरी वन फडानी गर्न नहुने रिटमा जिकिर गरिएको छ।