औषधी व्यवस्था विभागमा सहायता कक्ष

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

औषधी व्यवस्था विभागमा औषधी व्यवसायीहरूका माझ पर्दै आएको झन्झटमुक्त बनाउन नेपाल औषधी व्यवसायी संघ काठमाडौं जिल्ला शाखा र विभागको समन्वयमा सहायताकक्ष स्थापना गरेको छ।

संघको जिल्ला शाखा काठमाडौंको स्थापना भएको सय दिन पुगेको अवसर पारेर आइतबार एक समारोहको आयोजना गरी सहायताकक्षको शुभारम्भ गरेको हो।

सहायता कक्षको शुभारम्भ गर्दै विभागका सूचना अधिकारी सन्तोष केसीले आउँदो दिनमा कुनै पनि व्यवसायीले बिनाझन्झट सेवा लिन सकुन् र संघ र विभागको समन्वयमा सहजता दिलाउन सकियोस् भन्दै सहायताकक्षको अवलोकन गर्नुभएको थियो।

देशका कुनाकुनाबाट औषधि व्यवस्था विभागमा दर्ता या नवीकरणका लागि आउने व्यवसायीलाई दिनै बिताउनुपर्ने र छुट्टै गाँसबासको समेत व्यवस्था गरी काठमाडौं आई बस्नुपर्ने झण्झटबाट मुक्त दिलाउने र दर्ता नवीकरणका लागि संघले खोलेको सहायता कक्षबाट नै सम्पूर्ण काम गरी प्रमाणपत्र सम्बन्धित व्यवसायिलाई बुझाउने उद्देश्यका साथ सहायता कक्ष खोलिएको संघका अध्यक्ष बद्रीप्रसाद श्रेष्ठले जानकारी गराउनुभयो।

सहायता कक्षबाट विशेष गरी समस्यामा परेका व्यवसायीहरूलाई सहजीकरण गर्ने उद्देश्यका साथ लक्ष्य अघि सारिएको शाखाका महासचिव शुभमान श्रेष्ठ बताउँनुहुन्छ।

‘कुनै लाभका लागि नभई विशुद्ध सेवाका लागि यो कदम चालिएको हो,’ श्रेष्ठ भन्नुहुन्छ– ‘यसबाट व्यवसायी तथा सेवाग्राहीलाई समेत फाइदा पुग्नेछ।’

सोही अवसरमा महासचिव श्रेष्ठले व्यवसायी र सेवाग्राही समेतलाई लक्षित गरी आगामी ६ महिनाभित्र सजिलो सफ्टवेर वेबसाइट निर्माण गर्न लागेको जानकारी दिनुभयो। यो वेबसाइटमा सदस्य भएका या नभएका दुवैखाले व्यवसायीका साथै आमजनतालाई समेत सेवा दिने गरी सफ्टवेयर बनाउन थालेका छांै।

व्यवसायिले आफ्ना तथ्याङ्क राख्ने र बिरामीले १० औं वर्षदेखिको डाक्टर, औषधि, रोगका बारेमा सफ्टवेयरमा राखि बिना कागजी झन्झट आवश्यक परेको बेला तत्काल फाईल खोलेर हेर्न सक्ने पनि उहाँले बताउनुभयो।

काठमाडौ शाखा मातहतमा मात्र १ हजार ७ सय सदस्य रहेको काठमाडौं शाखाले पछिल्लो समय व्यवसायी सदस्यहरूलाई समस्या पर्दा सहयोग गर्ने उद्देश्यले ५० हजारबाट अक्षयकोष स्थापना गरेकोे छ।