आचार्य निवासमा कांग्रेसको चिन्ता

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

नेपाली कांग्रेसका नेता नरहरि आचार्यले तराई–मधेसमा कांग्रेस विषय विषयक छलफल शुरु गर्नुभएको। वैशाख ७ गतेबाट शुरु भएको छलफलको यो श्रृङ्खला ३२औं हो।

सो छलफल तराई–मधेसमा नेपाली कांग्रेसको अवस्थाका बारेमा भएको हो। नेता आचार्यले तराई–मधेशमा नेपाली कांग्रेसको संगठनमा जागरण कसरी ल्याउने भन्ने कुरा उठेको बताउनुभयो।

‘कांग्रेसले यतिखेर प्रत्यक्ष चुनाव जितेको २३ सिट हो त्यसमध्ये २१ तराई–मधेशबाट जितेको छ। पहाडमा डडेल्धुरा र रसुवामात्र जित्न सक्यौँ। तर पनि तराई–मधेशमा नै हामीलाई चुनौती चारैतिर छन्’ –उहाँले भन्नुभयो।

पार्टीगत चुनौती राजपा, समाजवादी र नेकपासँग रहेको उहाँको भनाई थियो। राष्ट्रियसभाका लागि राजपा र नेकपाको मेलमिलाप भएको प्रङ्गमा उहाँले राष्ट्रियसभाको चुनाव जनतामा जाने त होइन तर पनि आगामी दिनमा पनि उनीहरूको मेलमिलाप हुन सक्छ भन्ने संकेत देखिएको बताउनुभयो।

त्यसैगरी अर्का कांग्रेस नेता दीपकुमार उपाध्यायले कांग्रेसले कहाँ गल्ती गर्यो, हामीले गल्ती नगरेको भए माओवादी सायद जन्मने थिएन कि भन्ने विचार व्यक्त गर्नुभयो। उहाँले कांग्रेस अझै पनि आफ्नो गल्ती स्वीकार्न तयार नभएकाले समस्या आएको बताउनुभयो।

विश्लेषक पुरञ्जन आचार्यले कांग्रेसले भित्रबाट तराईलाई ठीक ढंगबाट बुझ्न जरुरी रहेको बताउनुभयो। उहाँले अब कांग्रेसले प्रदेश नेता निकाल्ने गरी काम गर्नुपर्ने बताउनुभयो।

मधेशको एजेन्डा कांग्रेसले बोक्नुपर्यो। कांग्रेसले एजेन्डा बोक्यो भनेर कांग्रेसको नेतृत्व परिवर्तन भएर बोक्न सक्ने आयो भने मधेशमा कांग्रेसको पक्षमा लहर नै आउने उहाँको तर्क थियो।

प्रदेश ३ का सांसद जीवन डंगोलले अहिले तराईको समस्यालाई हेर्दा कांग्रेसले रणनीति बनाउन जरुरी रहेको बताउनुभयो। उहाँले बनाएको रणनीति कार्यान्वयन हुने र सफल हुने गरी बनाउनुपर्नेमा जोड दिनुभयो।

नेपाली कांग्रेस काठमाडौं महासमिति सदस्य एवं प्रदेश उम्मेदवार साधुराम खड्काले तराई–मधेशको संगठनमा ०६२ साल अघि र पछिको गरेर हेर्नुपर्ने बताउनुभयो। उहाँले ०६२ साल अघि कांग्रेसको उर्वरभूमि भएको र यसपछि क्रमशः कांग्रेसमा आएको कमजोरीका कारण अवस्था खस्कदंै गएको बताउनुभयो।

त्यसैगरी नेपाली कांग्रेसका रौतहट महासमिति सदस्य उदयकान्त यादवले तराई–मधेसमा अझ बढी जागरण कसरी ल्याउने भन्ने कुरा उठेको छ भन्दै महाभारतमा सबैभन्दा चलाख मान्छे धृतराष्ट्रको उपमा दिनुभएको थियो।

उहाँले महाभारतमा पनि विदुरले नीतिको परिभाषा नियतवश व्याख्या गर्न थालेको जस्तै अहिले ठ्याक्कै कांग्रेसमा त्यही भइराखेको बताउनुभयो।

नेपाली कांग्रेस रौतहटका नेता राम श्रेष्ठ शाहले कांग्रेसलाई वीपीको समयमा भएको कांग्रेस बनाउने हो कि कस्तो कांग्रेस बनाउने हो भन्ने प्रश्न गर्नुभयो।

नेपाली कांग्रेस काठमाडौंका सदस्य रामचन्द्र घिमिरेले तराई–मधेश कांग्रेसको आधार शक्ति हिजोदेखिको पृष्ठभूमिले रहेको हो भन्दै अहिलेको परिस्थितिमा पनि प्रत्यक्ष जितेर वा समानुपातिकामा मत पाएर नेपाली कांग्रेस उभिन सकेको तराई–मधेशबाट नै हो भन्नु्भयो। कार्यक्रममा आफ्नो विचार राख्दै बद्रीनाथ कोइराला, श्याममणि आचार्य, अनिष श्रेष्ठ, प्रेम खत्री, टोपेन्द्र राना मगरलगायतले राख्नुभएको थियो।