गीतकार एंव संगीतकार गुरुङको निधन


न्युज अफ नेपाल, काठमाण्डौ ।

गीतकार एंव संगीतकार सुक गुरुङको आइतबार बिहान उपचारका क्रममा पोखरामा निधन भएको छ । उहाँको आजै पोखरामा अन्येष्टि गरिएको छ ।

उहाँको ‘छेक्यो छेक्यो देउराली डाँडा’, ‘आँखैमा झलझली हितैको दौँतरी’, ‘भाइटीकामा भेट्न आउँला’, ‘दोष कसैलाई दिन चाहन्न’ जस्ता गीत लोकप्रिय छन् ।

उहाँको गीतमा अरुण थापा, नेपथ्य, शर्मिला बर्देवा, सुकमित गुरुङ लगायतले स्वर दिनुभएको छ । नयाँ र पुराना कलाकार सबैलाई माया गर्ने गुरुङ २०४८ सालदेखि मधुमेहको रोगबाट पीडित हुनुहुन्थ्यो भने पछि मिर्गौलाको समेत समस्या देखिएको थियो ।

२०२२ सालमा लमजुङमा जन्मिएका गुरुङको सांगीतिक यात्रा पोखराबाट सुरु भएको उहाँका नजिकका एक साथीले बताउनुभयो । उहाँका श्रीमती र दुई छोरा हुनुहुन्छ ।