पार्टी परित्यागपछि रिहा भए विप्लव इञ्चार्ज


न्युज अफ नेपाल, हेटौंडा ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुर जिल्ला इञ्चार्ज वीरबहादुर घलान (ज्वाला) ले पार्टी परित्याग गर्नुभएको छ । विप्लव समूहप्रति प्रहरी र सरकार आक्रामक भएको बेला उहाँले पार्टी त्याग्नुभएको हो ।

मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–७ बस्दै आउनुभएका घलानले पार्टी परित्याग गरेसँगै प्रहरीले आइतबार उहाँलाई रिहा गरेको छ । विज्ञप्ति जारी गर्दै उहाँले आफू अब स्वतन्त्ररुपमा रहने र विप्लव नेतृत्वको पार्टी परित्याग गर्ने घोषणा गर्नुभएको हो । विप्लव पार्टीमा रहँदाको समयमा विभिन्न मुद्धा लगाएर प्रहरीले थुनेकोमा उहाँलाई रिहा गरिएको छ ।

आतंककारी गतिविधिमा संलग्न रहेको भन्दै सरकारले उक्त समूहको सबै प्रकारको गतिविधिलाई प्रतिवन्धित गरेको छ । उहाँलाई प्रहरीले विभिन्न मुद्धा लगाएर पक्राउ गर्ने र मुद्धा चलाउँदै आएको थियो ।

उहाँसँगै मनहरी–२ बस्ने राजकुमार पाख्रिन, थाहानगर–८ बस्ने सुरज थिङले पनि पार्टी परित्याग गरी स्वतन्त्ररुपमा जीवनयापन गर्ने विज्ञप्ति जारी गर्दै घोषणा गर्नुभएको छ ।

नेकपा मकवानपुर इञ्चार्ज ज्वालालाई प्रहरीले अर्को मुद्धामा पक्राउ गरेको थियो । नेपाल बन्दका दिन हेटौंडाको बस्तीपुरनजिक ट्रकमा पेट्रोल बम प्रहार गरेर चालक घाइते बनाएको आरोपमा उहाँलाई पुनः पक्राउ गरिएको प्रहरीले बताएको छ ।

चैत २८ गते हातहतियार तथा विष्फोटक पदार्थ सम्बन्धि घटनामा संलग्न भएको आरोपमा प्रहरीले उहाँलाई पक्राउ गरेको हो । बस्तीपुरबाट हेटौंडातर्फ आइरहेको ट्रकमा पेट्रोल बम प्रहार भएको थियो । जुन घटना विप्लव नेतृत्वको नेकपाले जिम्मा लिएको थियो । ज्वाला, विप्लव नेतृत्वको जिल्ला इञ्चार्ज भएकोले यसका आधारमा प्रहरीले उहाँलाई पक्राउ गरेको हो ।

उहाँलाई अदालतले रिहा गरेलगत्तै त्यसबेला उहाँले पत्रकारसँग आफूलाई निकै मानसिक यातना दिइएको दाबी गर्नुभएको थियो । चैत २८ गते पक्राउ पर्नुभएका ज्वाला जिल्ला अदालत मकवानपुर र जिल्ला प्रशासन कार्यालयमा तोकिएको धरौटी र जरिवाना बुझाएर रिहा हुनुभएको थियो ।

धरौटी तथा जरिवाना बुझाएर बाहिर निस्कनासाथ प्रहरीले उहाँलाई पक्राउ गरेको थियो । उहाँलाई प्रहरीले जिल्ला अदालतको गेटसम्म पनि आउन दिएन । धरौटी तथा जरिवानावापत् ६० हजार बुझाएर अदालतपरिसरबाट निस्कँदै गर्दा उहाँ पुनः पक्राउ पर्नुभएको थियो ।

उहाँलाई सशस्त्र प्रहरी बलले हेटौंडा–८, फायरलाइनबाट पक्राउ गरेको थियो । पक्राउपछि ज्वालालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो । उहाँलाई प्रहरीले चैत २९ गते हातहतियार तथा विस्फोटक पदार्थसम्बन्धि अभियोग लगाएर अदालत पेश गरेको थियो ।

वैशाख २ मा धरौटीमा छाड्न अदालतले आदेश दिए पनि उहाँ पुनः पक्राउ हुने भएपछि धरौटी नबुझाएर भीमफेदी कारागार जानुभएको थियो । जिल्ला अदालत मकवानपुरमा वैशाख २ गतेको थुनछेक बहसपछि अदालतले ज्वालालाई १८ हजार धरौटी माग गरेको थियो । तर, धरौटी रकम नतिरेपछि ज्वालालाई भीमफेदी कारागार चलान गरिएको थियो ।