केन्द्रिय नेतृत्वलाई जिल्ला सभापतिहरुको महाधिवेशनको कार्यतालिका छिटो सार्वजनिक गर्न दबाब


रामकृष्ण चापागाईं, काठमाडौं ।

प्रमुख पतिपक्ष दल नेपाली काग्रेसका जिल्ला सभापतिहरुले केन्द्रिय समितिको जारी बैठकबाटै १४औं महाधिवेशनको कार्यतालिका सार्वजनीक गर्न केन्द्रिय नेतृत्वलाई दबाब दिएका छन् ।

काग्रेस भित्र महाधिवेशनको विषयलाई लिएर आन्तरीक विवाद चरम उत्सर्गमा पुगेको छ । यहि विषयलाई लिएर काग्रेस केन्द्रिय समिति बैठक बहिस्कार गर्ने र स्थगित हुने क्रम जारी छ । आईतवार काठमाडौंमा उपलब्ध १७ जिल्लाका जिल्ला सभापतिको भेलाले पार्टीभित्र भागवण्डाको राजनीति अन्त्य गरि १४औं महाधिवेशनको कार्यतालिका सार्वजनीक गर्न माग गरेका हुन ।

भेलाको निर्णयबारे नेपाल समाचारपत्रलाई जानकारी दिदै काभ्रे जिल्ला सभापति मधुप्रसाद आचार्यले भन्नुभयो– भेलाले समय घर्केपछि गठन गरिने विभागलाई पनि नमान्ने निर्णय गरेको छ । महाधिवेशनको कार्यतालिका सार्वजनीक गर्न माग भैरहेको बेला काग्रेस बैठकमा विभागको संख्या बढाउने प्रस्ताव ल्याइएको थियो ।

काग्रेस भित्र सभापति शेरवहादुर देउवा संख्या बढाएर विभाग गठन गर्ने र भातृसंस्थाहरुको व्यवस्थापन गरेपछि मात्र महाधिवेशनको कार्यतालिकाको एजेण्डा ल्याउने पक्षमा छन भने वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौला पहिला महाधिवेशनको कार्यतालिकाको एजेण्डा ल्याउनुपर्ने पक्षमा छन् । यसमा विवाद हुदा पौडेल पक्षले केन्द्रिय समिति बैठक निरन्तर वहिस्कार गर्दै आएको छ ।

जिल्ला सभापतिहरुको भेलाले गरेको निर्णयबारे काभ्रे सभापति आचार्यले भन्नुभयो–पार्टी केन्द्रिय समितिको पुर्व बैठकको निर्णय अनुसार नै चालु बैठकबाटै महाधिवेशनको कार्यतालिका सार्वजनीक गर्नुपर्छ । विधानले महाधिवेशन भएको ६ महिना भित्र गठन गरिसक्नु पर्ने भनि किटान गरेकोले समय घर्केपछि गठन गरेको विभाग जिल्ला सभापतिहरुले नमान्ने निर्णय गरेका छन् ।

पार्टीभित्र भागवण्डा र गुटबन्दी बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै जिल्लासभापतिहरुले भाग माग्ने र भाग दिने दुवै गलत भएको निर्णय गरेका छन् । योज्ञता, क्षमता, विज्ञता र निरन्तरताको आधारमा विवेक संगत आधारले सबैलाई समेटेर लैजानु पर्ने भन्दै जिल्ला सभापतिहरुले भागवण्डाको परम्परा र सस्कृतिलाई अन्त्य गर्न माग गरेका छन् ।

भेलाले पार्टीभित्र पुर्ण एकता कायम गरि सरकार पक्षधर विरुद्ध व्यापक जनमत सृजना गर्नुपर्ने भन्दै पार्टी नेतृत्व यस विषयमा चुक्दै गएको जनाएको छ । पार्टी नेतृत्वले विधान र नियमावलीलाई पनि पालना नगरेको उनिहरुको आरोप छ ।

भातृसंस्थाहरुको विषयमा पार्टी भित्रै बाट निर्वाचन समिति गठन गरि अधिवेशन गराउनु पर्ने जिल्ला सभापतिहरुको भनाई छ । भेलाको निर्णयबारे आचार्य भन्नुहुन्छ– अधिवेशन हुननसकेको नेविसंघ, तरुण दल लगाएतका भातृसंस्थाहरुको अधिवेशन गर्न केन्द्रमा केन्द्रिय सदस्यको संयोजकत्वमा र जिल्लामा जिल्लासदस्यको संयोजकत्वमा निर्वाचन समिति गठन गरि अघि बढ्नु पर्छ ।

भेलामा काभ्रे, काठमाडौं,रोल्पा, मुगु, सोलुखुम्बु, खोटाङ,उदयपुर, नुवाकोट,बाके, जाजरकोट लगाएत १७ जिल्लाका सभापति उपस्थित थिए ।