एनसेलले १५ दिनभित्र कर चुक्ता नगरे कारबाही गर्ने


न्युज अफ नेपाल, काठमाडौँ ।

आइतबार ठूला करदाता कार्यालयले एनसेललाई थप १५ दिन समयसीमा दिएर कर चुक्ता गर्न भनेको छ।

ठूला करदाता कार्यालयले एनसेललाई दोस्रो पत्र पठाउँदै १५ दिनभित्र सबै कर चुक्ता गरिसक्न ताकेता गरेको छ।

एनसेललाई आइतबार पठाएको पत्रमा ‘तोकिएको १५ दिन समयसीमाभित्र कर बक्यौता चुक्ता नगरे कारबाही गर्ने’व्यहोरा उल्लेख छ।

यसअघि पनि ठूला करदाता कार्यालयले सर्वोच्च अदालतको आदेशपछि २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ कर निर्धारण गर्दै १५ दिनभित्र तिर्न एनसेललाई पत्र पठाएको थियो।

ठूला करदाता कार्यालयले गत बैशाखमा निर्धारण गरेको करविरुद्ध एनसेलले दायर गरेको रिटको फैसलाको पूर्णपाठमा सर्वोच्च अदालतले एनसेलले कर, ब्याज र जरिवाना बुझाएपछि यो विवाद समाप्त हुने उल्लेख गरिएको छ।

सर्वोच्च अदालतले कर कार्यालयले यसअघि निर्धारण गरेको कर बदर गर्दै एनसेललाई लाग्ने कर दायित्व आफैँले हिसाब गरेर फैसलामा लेखेको थियो।

राजस्व कानुनका जानकारहरुले अदालतको फैसला नै त्रुटिपूर्ण रहेको भन्दै अदालतले कर हिसाब गर्न नहुने टिप्पणी गरेका थिए।

एनसेललाई कर कार्यालयले ७ दिनको म्याद दिँदै कर तिर्न भनेकोमा कर तिर्नुको साटो उसले बैशाख ९ गते सर्वोच्च अदालतमा कर कार्यालयविरुद्ध रिट हालेको थियो।

यही रिटको अन्तिम सुनुवाई गर्दै सर्वोच्चले एनसेलमाथि लगाइएको १७ अर्ब ९५ करोड रुपैयाँ जरिवाना मिनाहा गर्दै २१ अर्ब १० करोड रुपैयाँ मात्रै असुल्न भनेको थियो।

एनसेललाई सरकारले दिएको समय शुक्रबार सकिए पनि उसले कर तिरेको छैन।