नेकपा स्थायी कमिटीको बैठक सकियो: यस्ता छन निर्णय


न्युज अफ नेपाल, काठमाडौँ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको मंसिर २९ गते सुरु भएको चौथो बैठक सात दिनसम्म चलेर आइतबार पुस ६ गते सम्पन्न भएको छ । पार्टी अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा केन्द्रीय कार्यालय, धुम्बाराहीमा बसेको थियो ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि बैठकमा व्यापक छलफल र विमर्श भएको थियो । सदस्यहरूद्वारा प्राप्त विचार, सुझाव र धारणाहरूको सम्बोधन हुने गरी प्रतिवेदनमा आवश्यक परिमार्जन गरेर अध्यक्ष प्रचण्डले बैठकमा प्रस्तुत गर्नुभयो । बैठकद्वारा सर्वसम्मतिले परिमार्जित सो राजनीतिक प्रतिवेदन पारित भएको छ ।

महासचिव विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावलाई प्राप्त सुझाव र धारणाहरूको आधारमा अन्तिम रुप दिई आगामी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्ने गरी पारित गरिएको हो ।

केन्द्रीय कमिटीको बैठक आगामी पुस २३ गतेदेखि राजधानी काठमाडौंमा गर्ने निर्णय भएको छ । केन्द्रीय कमिटीको आगामी बैठक अगाडि नै १५ दिनभित्र पार्टी एकीकरणका बाँकी सांगठानिक कामहरू पूरा गरिसक्ने समेत बैठकले निर्णय गरेको छ ।

हालै लिम्पियाधुरा उद्गमस्थल रहेको काली नदी पूर्वको नेपाली भूभागसमेत समावेश गरेर भारतले प्रकाशित गरेको राजनीतिक नक्सालाई बैठकले अस्वीकार र अमान्य घोषणा गरेको छ ।

नेपालीे भू–भाग कालापानी, लिपुलेक र लिम्पियाधुरामा भएको अतिक्रमणप्रति बैठकले गम्भीर ध्यानाकर्षण गर्दै अतिक्रमित भू–भाग फिर्ता गर्न, त्यहाँ तैनाथ भारतीय सुरक्षाकर्मी र सुरक्षा शिविर हटाउन आवश्यक कदम चाल्ने निर्णय गरेको छ ।

नेपाल–भारत समस्याको सम्बन्धमा विगतमा परराष्ट्र सचिवस्तरीय संयन्त्रमा छलफल गरी समस्या समाधान गर्ने सहमति र प्रयास भइरहेकोमा त्यसविपरीत प्रकाशित नक्सा आपत्तिजनक रहेको बैठकले ठहर गरेको छ ।

यस समस्याको छिटो समाधान गर्न आवश्यक कूटनीतिक र राजनीतिक प्रयास हुनुपर्नेमा बैठकले जोड दिएको छ ।

यस सन्दर्भमा नेपाल सरकारले लिएको अडान, सबै राजनीतिक दल, संघ–संस्था र सरोकारवालाहरूसँग गरेको सर्वपक्षीय र सर्वदलीय बैठकको आयोजना तथा त्यसमार्फत् सिंगो देशको एउटै दृष्टिकोण, धारणा र अडान बनाउन गरेको पहललाई बैठकले उचित कदमका रूपमा लिएको छ ।

पार्टी केन्द्रीय कार्यालय भवन अविलम्ब निर्माण गर्ने निर्णय भएको छ ।

पार्टी अध्यक्ष प्रचण्डले यस बैठकबाट पार्टीलाई एकताबद्ध गर्न, सांगठानिक एकीकरणलाई पूर्णता प्रदान गर्न, विचारको वहस र विकासलाई व्यवस्थित गर्न, सरकार सञ्चालनलाई प्रभावकारी बनाउन र हरहिसाबले पार्टीलाई व्यवस्थित गर्न महत्वपूर्ण योगदान पुगेको धारणा राख्नुभयो ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले अस्वस्थताका कारण अनुपस्थित भएर पनि बैठक सफल पार्न राजनीतिक प्रतिवेदनको तयारी लगायत महत्वपूर्ण निर्णय प्रक्रिया एवं बैठक सञ्चालन र निष्कर्षमा पुग्न गर्नुभएको योगदानका निम्ति धन्यवाद दिनुभयाे । साथै, सबै सदस्य कमरेडहरूले बैठकमा सक्रिय सहभागिता र योगदान गर्नुभएकोमा धन्यवाद  दिनुभयाे ।