काङ्गेस नेताद्वारा घरमै बोलाएर अभिनेतालाई कुटपिट


न्युज अफ नेपाल, कपिलवस्तु।

नेपाली काँग्रेसका नेता अभिशेकप्रताप शाहले अभिनेता श्यामकुमार मिश्रालाई आफ्नै घरमा बोलाएर निर्घात कुटपिट गरेका छन् ।

कपिलवस्तुको कृष्णनगरमा नेपाली काँग्रेसका नेता तथा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य शाहले गत निर्वाचनमा राप्रपाबाट उमेदवार रहेका र चलचित्रका अभिनेता समेत रहेका मिश्रालाई आफ्नै घरमा बोलाएर निर्घात कुटपिट गरेका हुन् ।

आफ्ना गाडी चालक शशि कस्यपलाई बोलाउन पठाएपछि सांसद शाहका घरमा पुगेका मिश्रालाई कोठाभित्र थुनेर शाह र ड्राइभर कस्यपले मरणासन्न हुनेगरी कुटपीट गरेको पीडित पक्षका आफन्तले जानकारी दिएका छन् ।

मरणासन्न हुनेगरी कुटपिटपछि सांसद शाहका ड्राइभरले उनलाइ गाडीमा राखेर कृष्णनगर बजारको सडकमा ल्याएर छाडेका थिए ।

स्थानीयतले घाइते मिश्रको उद्दार गरी बहादुरगञ्ज पठाएको र उनको अवस्था गम्भीर देखेपछि बुटवल रिफर गरिएको बताइएको छ ।

कपिलवस्तुका प्रहरी उपरीक्षक दिपशम्शेर जबराले मिश्राले सांसद शाह र उनका ड्राइभरले कुटपिट गरेको भन्ने जानकारी प्रहरीमा आएको बताए । मिश्राको नाक र मुखबाट रगत बगेको र उपचार भइरहेको तर कतैबाट उजुरी नपरेको एसपी जबराले बताए ।

शाहका ड्राइभर फरार रहेकाले पक्राउ गर्न नसकिएको एसपी जबराले बताए । कृष्णनगरमा रहेका सांसद शाहको घरमै पुुगेका मिश्र र सांसद शाहबीच केहिबेर गाली गलौज समेत चलेको परिवारिक स्रोतले जनाएको छ । घटनाबारे सांसद शाहसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।