फरार कैदी १५ वर्षपछि पक्राउ 


धनगढी ।
कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट कैद सजाय पाई फरार रहेका कैलालीको भजनी नगरपालिकाका दिलबहादुर साउदलाई प्रहरीले आज पक्राउ गरेको छ ।

एक्काइस वर्ष छ महीना कैद सजाय पाएर कारागारबाट विसं २०६१ देखि फरार रहेका साउदलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले बताउनुभयो ।

साउदले विसं २०५५ फागुनमा साविकको लालबोझी गाउँपालिकाका रतन साउदको हत्या गरेका थिए ।

अदालतको फैसलापछि दिलबहादुरलाई विसं २०६० मा पक्राउ गरी कारागार चलान गरिएको थियो ।

तत्कालीन नेकपा(माओवादी)ले विसं २०६१ मा राति गरेको कैलाली कारागार आक्रमणका क्रममा उनी फरार थिए ।