अपहरणमा परेका गाउँपालिका अध्यक्षको अवस्था अज्ञात, श्रीमती जंगलमा भेटिइन्

0
Shares

न्युज अफ नेपाल, दैलेख ।

आइतबार बिहानपख आफ्नै घरबाट अपहरणमा परेकी दैलेखको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीकी श्रीमती इला जंगलमा फेला परेकी छन् । सँगै अपहरणमा परेका गाउँपालिका अध्यक्ष शाहीको अवस्था भने अज्ञात छ ।

शाही दम्पत्ति ठाँटीकाँध गाउँपालिका वडानम्बर २ श्रीपाटामा रहेको घरबाटै अपहरणमा परेका थिए ।

गाउँपालिका अध्यक्ष शाही नेकपा जिल्ला कमिटी सदस्यसमेत हुन् भने उनकी श्रीमती इला नेपाल राष्ट्रिय शिक्षक संगठनको केन्द्रीय उपाध्यक्ष हुन् ।

दैलेख घर भएका नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजालले इलालाई अपहरणकारीले बीच जंगलमा छाडेको र धीरबहादुर शाहीलाई भुवानथानतिर लगेको जानकारी दिएका छन् ।

यद्यपि प्रहरीले भने यसको पुष्टि गरिसकेको छैन । अपहरणमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको संलग्नता रहेको अनुमान छ ।