फौजी किराको प्रकोपका कारण सिन्धुलीमा झन्डै ९ प्रतिशत धान उत्पादनमा कमी

0
Shares

बुद्ध नेपाली,सिन्धुली ।

सिन्धुलीको कमलामाई नगरपालिका –८ का वडाध्यक्ष टिका मोक्तानले बर्षेनी १२ कठ्ठा खेतबाट ३० मुरी भन्दा धेरै धान उत्पादन गरेर घरमा भित्राउनु हुन्थ्यो । तर अमेरिकन फौजी किराले क्षति गर्दा मोक्तानको १२ कठ्ठा खेतबाट गत बर्षको तुलनामा यस बर्ष आधा मात्रै धान उत्पादन भयो ।

पहिला ३० मुरी भन्दा बढी धान घरमा भित्रिन्थ्यो उहाँले भन्नुभयो, ‘यो बर्ष १५ मुरी मात्रै भित्र्याए । धान पाक्ने बेलामा अमेरिकन फौजी किराले बाला काटेर क्षेती गर्दा यस बर्ष धान उत्पादन घटेको हो ।’
किराले बाला काटेर खेतमा छरेका धानबाट अहिले उम्रिन थालेको उहाँले बताउनुभयो । फौजी किराले सिन्धुलीको कमलामाई नगरपालिका र मरिण गाउपलिकाको एक दर्जनबढी वडाहरुको धानबालीमा क्षति गरेको छ ।

फौजी किराको प्रकोपका कारण यस बर्ष सिन्धुलीमा झन्डै ९ प्रतिशतले धान उत्पादन घटेको छ । किराको प्रकोपका कारण सिन्धुलीमा गतबर्षको तुलनामा यस बर्ष ८ दशमबल ३८ प्रतिशतले धान उत्पादन घटेको हो ।

कृषि ज्ञान केन्द्र सिन्धुलीका अनुसार किराको संक्रमणका कारण सिन्धुलीमा गत वर्षको तुलनामा यस बर्ष ४ हजार २७७ मेट्रिकटन धान उत्पादन घटेको छ । यो बर्ष धान खेती गरिएको १५ हजार ३ सय हेक्टर क्षेत्रफलमा ४७ हजार ३५१ मेट्रिकटन धान उत्पादन भएको छ भने गत बर्ष ५१ हजार ६८२ मेट्रिक्टन उत्पादन भएको थियो ।

जिल्लाका धान बालीमा संक्रमणको रुपमा देखा परेको अमेरिकन फौजी किराको प्रकोपकै कारण यस बर्ष धान उत्पादनमा कमी भएको कृषि ज्ञान केन्द्र सिन्धुलीका बागवानी विकास अधिकृत श्रीकृष्ण अधिकारीले बताउनुभयो ।

फौजी किराले झण्डै ३५ सय हेक्टरमा गरेका धान खेतीमा क्षेती गरेको छ । उहाँले भन्नुभयो,‘धानबाली भित्र्याउने बेलामा धानको बाला काटेर अमेरिकन फौजी किराले क्षती गर्दा जिल्लामा धान उत्पादनमै कमी भएको छ ।’

विगत पाँच बर्षमा सिन्धुलीमा धान उत्पादन घटेको थिएन् । तर फौजी किराको प्रकोपका कारण यस बर्ष धान उत्पादन घटेको अधिकृत अधिकारीले बताउनुभयो ।

जिल्लामा हाईब्रिड, साबित्री, पोख्रेली, रामधान, मन्सुली, खुमलचार लगायतका जातका धान खेती हुदै आएको छ । फौजी किराले सिन्धुलीमा मकै बालीमा पनि क्षति गरेको थियो ।