शेयर कारोबारमा सजग होऔं


अहिले शेयर बजार ओरालो लागेको अवस्थामा छ। विशेष गरी हाइड्रोपावरमा लगानीकर्ताहरू आकर्षित भएको देखिँदैन। सिनर्जी पावरजस्ता कतिपय हाइड्रोपावरका शेयरको बजार मूल्य प्रतिशेयर सय रुपियाँभन्दा पनि कम भएको देखिन्छ।

हुन त मुलुकमा बेलाबखत उत्पन्न राजनीतिक उतारचढावसँगै नेपाली पूँजीबजार अप्रत्यासितरूपमा प्रभावित हुने र केही समयपछि कारोबारमा सुधार हुने गरेका घटना यहाँका सर्वसाधारण लगानीकर्ताहरूका लागि नौला होइनन्।

देशको शेयरबजारको कारोबारलाई अस्थिर बनाएर व्यापार गर्नेहरूकै कारण वास्तविक एवम् इमानदार लगानीकर्ताहरू असुरक्षित बन्दै आएको कुरा छर्लङ््ग छ। केही सट्टेबाजहरूले मौकाको फाइदा उठाउन मुलुकको राजनीतिक फाँटमा अलिकति उतारचढाव देखा पर्नेबित्तिकै त्यसैलाई बहाना बनाएर भ्रमको खेती गरी कमाउन उद्यत् हुन्छन्।

यस्तो बेला उनीहरू आफ्नै पकडमा रहेको केही शेयर सस्तो मूल्यमा बिक्री गर्न थाल्छन् अनि अरू सर्वसाधारण लगानीकर्ताहरू पनि हतारिएर आफू सुरक्षित हुनका लागि धेरै नोक्सान बेहोर्नुभन्दा बरु केही सस्तैमा दिनुपरे पनि बिक्री गर्नतर्फ लाग्छन्।

यसरी कम मूल्यको शेयर फालाफाल हुने अवस्था पनि आउन सक्छ। अनि तिनै चलखेल गर्ने ठूला लगानीकर्ताहरू आफैं खरिद गर्छन् त्यसपछि अवस्था सुधारिएर बिस्तारै शेयरको मूल्यवृद्धि हुन थाल्छ।

अनि बजार सकारात्मक बन्दै जाँदा उनीहरू सस्तोमा खरिद गरेको शेयर महँगो मूल्यमा बिक्री गर्न थाल्छन्। ठूला पूँजीपतिदेखि सामान्य लगानीकर्ताद्वारा खर्बौं रुपियाँ लगानी गरिएको यो क्षेत्रलाई हल्का र हचुवाका भरमा नलिई लगानीकर्ताको संरक्षण गर्न तथा मुलुकको समग्र आर्थिक उन्नति गर्नका लागि राज्यका सम्बद्ध नियामक निकायले विशेष प्राथमिकता दिनै पर्दछ। नत्र शेयर बजारमा मानिसको विश्वास गुम्दै जाने खतरा निम्तिन सक्छ। यसतर्फ लगानीकर्ता सर्वसाधारणसमेत सजग बन्नै पर्छ।

– अनुपराज गौतम, पाटन, ललितपुर।