सैनिक शासनको आवश्यकता


अब मुलुकमा सैनिक शासनको आवश्यकता रहेको छ। मुलुकको रक्षा सेनाले गर्नु हुन्छ भने मुलुक चलाउन सेनाले किन नहुने ? आमनागरिकसँग मेरो प्रश्न रहेको छ ?

वास्तविकमा नेपाली जनता नै भेडा हुन्, धेरैले भन्ने गरेका छन्। एक्काइसौं शताब्दीमा पनि नेपाली जनतामा चेतना र ज्ञान नआएकोले नै प्रधानमन्त्री, मन्त्री, सांसदहरू र राजनीतिक दलका नेताहरूले मन लाग्दो र मनपरि काम गर्दै नागरिकलाई झुक्याइरहेका छन्।

अमेरिका, चीन, भारत, दुबई, मलेसिया, साउदी, अस्ट्रेलिया, जापानजस्ता मुलुकका जनता चेतनशील भएकाले नै मुलुकले दिन–प्रतिदिन फड्को मारी विकसित भएका हुन्। यसकारण हाम्रो मुलुकको जनतामा पनि चेतना आउन जरुरी रहेको छ।

अब पनि जनतामा चेतना आएन भने मुलुकमा संकट र भोकमरीसम्म आउन सक्छ भन्ने कुरा अवगत गराउन चाहन्छु।प्रधानमन्त्री, मन्त्री, सांसद र राजनीतिक दलका नेताहरूले मुलुकलाई निकास नदिएर अनिर्णयको बन्दी बनाइरहेका छन्।

मुलुकको ढुकुटी रित्तो गर्न र ढुकुटी भागवण्डा लगाउन, खाने मामिलामा सत्तापक्ष र प्रतिपक्ष केही पनि भन्दैनन्, एकमत र एकढिक्का भई भागवण्डा लगाउँदै मिलिजुली खान्छन्। मुलुकलाई निकास दिनुपर्यो भने सत्तापक्ष र प्रतिपक्ष भन्छन्। सबै अलग–अलग कित्तामा र फरक–फरक मत राख्छन्, किन ?

मुलुकले अब पुनः वीर बलभद्र कुँवर, श्री ३ जंगबहादुर राणा, बडा महाराजाधिराज पृथ्वीनारायण शाह र श्री ५ महेन्द्र शाहजस्ता शासक खोजिरहेको छ। सेनाहरूले बुझ्नुपर्ने कुरा वीर बलभद्र कुँवर, श्री ३ जंगबहादुर राणा, बडा महाराजाधिराज पृथ्वीनारायण शाह र श्री ५ महेन्द्र शाह यी सबै सेना नै हुन्।

यसकारण अब मुलुकको प्रगति, विकास र हित गर्न यहाँ सैनिक शासनको नै आवश्यकता छ।सात प्रदेशका मुख्यमन्त्री, मन्त्री, सांसदहरू र प्रदेश प्रमुखहरूलाई तलब भत्ता खान, सेवा–सुविधाहरू दिन र पाल्न मात्र संघीयता हो र ?

जग्गाको भूभाग, हेक्टर र जनसंख्या बढी भएका विशाल मुलुकहरू अमेरिका, भारत, चीन आदि मुलुकहरूका लागि संघीयता उपयुक्त छ। तर हाम्रो मुलुक नेपालको भूभाग, हेक्टर र जनसंख्या भारतको विहार प्रान्त/ राज्यको पटना जत्रो सानो आकारको छ। यसकारण हाम्रो मुलुकमा संघीयताको आवश्यकता छैन। हाम्रो मुलुक नेपालको लागि संघीयता अफाप र घातक छ।

वि.सं. २०५२ देखि आजसम्म मुलुक संक्रमणकाल अवस्थाबाट गुज्रिरहेको छ। पहिले ६०१ सभासदहरूले राष्ट्रको ढुकुटी रित्याए। अब ८८४ जना सांसदहरूले राष्ट्रको ढुकुटी रित्याएर राष्ट्रलाई बर्बाद पारे। संघीयताको नाममा राष्ट्रको ढुकुटी रित्याए है रित्याए।

प्रधानमन्त्री, मन्त्री, सभासद र राजनीतिक दलका नेताहरूले लाज पचाए। विश्वको एकमात्र हिन्दू राष्ट्र नेपाल थियो। प्रधानमन्त्री, मन्त्री, नेताहरू र सभासदहरूले अर्बौं डलर खाई हिन्दू राष्ट्रलाई हटाएर जबर्जस्ती धर्म निरपेक्षता लादे र पाँचवटा विकास क्षेत्रबाट सातवटा प्रदेश बनाए।

काठमाडौंको राजधानीलाई आजसम्म व्यवस्थित र व्यवस्थापन गर्न नसक्नेहरूले प्रदेश राजधानीको व्यवस्थापन कसरी गर्न सक्छन् ?
जनताको कर, राजस्व र रेमिट्यान्सले मुलुक चलेको छ। बाहिरी मुलुक पलायन भएका युवा–युवतीहरूले रेमिट्यान्स पठाउन मात्र छोडे भने नेताहरूको बाह्र बज्छ।

राजनीतिक दलका नेताहरूसँग कुनै भिजन, योजना नै छैन र मुलुकप्रति योगदान गरेको इतिहास पनि छैन। आजसम्म पनि मुलुकमा श्री ५ महेन्द्र शाहको भिजन र योजनाले नै महत्व पाएको छ।

इतिहासको पाना पल्टाएर हेर्ने हो भने वीर बलभद्र कुँवर, श्री ३ जंगबहादुर राणा, बडा महाराजाधिराज पृथ्वीनारायण शाह र श्री ५ महेन्द्र शाहले मुलुकप्रति के–के गरे भन्ने कुरा स्वतः थाहा हुनेछ।

हाम्रो मुलुकमा प्रधानमन्त्री, मन्त्री, सभासद र राजनीतिक दलका नेताहरूले प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रको खिल्ली उडाए। उदाहरणका लागि अमेरिका, भारत, चीन आदि मुलुकहरूलाई प्रजातान्त्रिक र गणतान्त्रिक मुलुक भनिन्छ। हाम्रो मुलुक नेपालका सेनाहरू ढिलो नगरौं।

सबै सखाप भएपछि सेनाहरू जागेर के काम ? राजनीतिक दलका नेताहरूले डलर र पाउन्ड खाएर हिन्दू राष्ट्र बेचे, मुलुकको स्वाधीनता धरापमा पार्ने राजनीतिक दलका नेताहरू, पुरानो वाइडबडी विमान ४ अर्ब ५५ करोड भ्रष्टाचार र नेपाल टेलिकमको फोर जीबी सेवा विस्तार ठेक्कामा १२ अर्ब भ्रष्टाचार गर्नेहरू तथा नेपालको अखण्डता, स्वाधीनतामा आँच र दखल पुर्याउनेहरूलाई कारबाही गर्न सक्नु नै बहादुरी हो।

२०६२/०६३ सालपछि प्रधानमन्त्री, मन्त्री, सांसद र राजनीतिक दलका नेताहरूको कारण मुलुकको स्वाधीनता धरापमा परेको छ। राज्यकोष दुरूपयोग भएको अवस्था छ। यसकारण मुलुकको हित र विकासको लागि अब मुलुकमा सैनिक शासन चाहिएको छ।
– राकेशकुमार शर्मा, गुलरिया, बर्दिया।

हाल ः हेटौंडा–२, मकवानपुर ।