हिटलरको कारदेखि महारानीको बग्गीसम्म प्रदर्शनीमा

0
Shares

ईश्वरराज ढकाल, काठमाडौं।

नारायणहिटी संग्रहालयमा हिटलरले उपहार दिएको कार, बेलायत र नेपालमा मात्र रहेको बग्गी र पुराना सवारी साधनलगायतका सामग्री प्रदर्शनीमा राखिने भएको छ।नारायणहिटी संग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले नेपाल भ्रमण वर्ष सन् २०२० को अवसरमा ती सामग्री प्रदर्शनीमा राख्ने तयारी भइरहेको जानकारी दिनुभयो।

उहाँका अनुसार भ्रमण वर्ष शुरू भएको केही महिनाभित्र कार्यविधि निर्माण गरी ती सामग्री प्रदर्शनीमा राखिने छ।हिटलरको उक्त कार पूर्वराजपरिवारले प्रयोग गर्ने गरेको थियो भने बेलायती महारानीले दिएको बग्गी तत्कालीन राजाहरूले विशेष समारोहमा चढ्ने गरेका थिए। अहिलेसम्म छोपेर राखिएका ती सामग्रीहरू संग्रहालय स्थापनाको ११ वर्षपछि प्रदर्शनीमा राख्न लागिएको हो।

करिब दुई वर्षअघि तयार भएको गणतन्त्र स्मारक पनि प्रदर्शनीमा राखिने बताउँदै सो विकास समितिका कार्यकारी निर्देशक दाहालले भन्नुभयो– ‘शुरूमा जिम्मेवारी लिनेबारे विवाद भएपछि उक्त स्मारक अलपत्र परेको थियो।

अब विकास समितिले नै सञ्चालन गर्ने अन्तिम तयारी भएको छ। सम्भवतः आउँदो साता स्मारक हस्तान्तरण भएपछि प्रदर्शनीका लागि खुला गरिनेछ।’

स्मारकमा साउन्ड र लाइटिनिङ जडान गरी बेलुका सांस्कृतिक कार्यक्रम गर्ने तयारी भइरहेको जानकारी दिँदै दाहालले थप्नुभयो– ‘गणतन्त्र स्मारक खुला गरेलगत्तै करिब ५ वर्षदेखि प्रदर्शन गराउने तयारीमा रहेको राजा वीरेन्द्रको घर श्रीसदन पनि खुला गरिनेछ।’ उक्त सदन बाटो नहुँदा खुला गर्न सकिएको थिएन।

तीन दिनअघि कार्यकारी निर्देशकमा पदबहाली हुनुभएका दाहालका अनुसार संग्रहालयमा हाइट एन्ड साउन्ड सिस्टम, रात्रीकालीन व्यवस्थापन, बगैंचा निर्माण, राजा वीरेन्द्र परिवारले चढ्ने हवाईजहाज, नारायणहिटी दरबारभित्र रहेको सिनेमहल, पुस्तकालय, शैलुनसहित सबै कक्ष एवं सामग्री प्रदर्शनीमा राखिनेछ।

उक्त विकास समितिले नेपाल भ्रमण वर्षमा नारायणहिटीमा आउने पर्यटकलाई भरपुर मनोरञ्जन दिने उद्देश्यले अबको एक वर्षभित्र नारायणहिटी परिसरका सबै दरबार, हलसहित सम्पूर्ण सामग्री खुला गर्ने योजना बनाएको छ। यसका लागि थप कर्मचारी माग गरेको छ।गणतन्त्र स्मारक र अन्य संरचना खुला गर्न करिब दुई सयभन्दा बढी कर्मचारी आवश्यक पर्ने बताइएको छ।

विसं २०६५ फागुन १५ गतेदेखि सर्वसाधारणका लागि खुला गरेपछि उक्त विकास समितिले भ्रमण वर्षअघि संग्रहालयका अन्य संरचनासमेत अवलोकन गर्ने व्यवस्था मिलाउने बताइएको छ।

करिब ७ सय ५४ रोपनी क्षेत्रफलमा पैmलिएको संग्रहालय परिसरमा विभिन्न प्रयोजनका लागि नेपाली सेनाले दर्जनभन्दा बढी संरचना बनाएको छ भने सोही जग्गामा सरकारद्वारा निर्मित गणतन्त्र स्मारक छ। नारायणहिटी संग्रहालयको क्षेत्रफल ३ सय १८ रोपनी छ।

भूकम्पले ध्वस्त बनाएको रणोद्दीपको दरबार भने अझै पुनर्निर्माण हुनसकेको छैन। राजा पृथ्वी वीरविक्रम शाहको शासनकालमा तत्कालीन प्रधानमन्त्री रणोद्दीपको पालामा निर्मित नारायणहिटी दरबारमा विसं १९९० सालको भूकम्पले क्षति पुर्याएको थियो। पछि राणा प्रधानमन्त्री वीर शमशेरको कार्यकालमा प्यागोडा शैलीको दरबार बनाइएको थियो।

त्रिभुवन, महेन्द्र, वीरेन्द्र, दीपेन्द्र र ज्ञानेन्द्रसम्मका राजा र धेरै राजपरिवारका सदस्यको जन्म भएको नारायणहिटीका अन्य धेरै कक्षहरू अझै खुला गरिएको छैन। अहिलेसम्म ३१ कक्ष, श्रीपेच, राजदण्ड, राजमुकुटसहित महत्वपूर्ण सामग्री प्रदर्शनीमा राखिएको छ।

https://youtu.be/Eyc3w-IOok4

https://youtu.be/nrDDHjN9p24

https://youtu.be/ut2NR52PHu8