पाहुना पन्छीलाई सुक्खा बन्दरगाहको चुनौती

0
Shares

टीका बन्धन, काठमाडौं।

भनिन्छ, विकासले सकारात्मक परिवर्तन मात्रै ल्याउँदैन, विनाश पनि निम्त्याउँछ। विकास निर्माणले पर्यावरण र वातावरणमा समेत प्रतिकूल प्रभाव पर्छ।

पाहुना पन्छी राजहुटिट्याउँ (ग्रे हेडेड ल्यापविङ)का लागि काठमाडौंको चोभारमा निर्माणाधीन सुक्खा बन्दरगाह र सो क्षेत्र आसपासमा बढ्दो मानवीय गतिविधि चुनौती बन्न थालेको छ।

हिउँदयामको पाहुना पन्छी राजहुटिट्याउँको ठूलो संख्या नेपालमा चोभारको जलविनायक, टौदह र सँगैको बागमती करिडोरमा पाइने पन्छीविद् बताउँछन्।दुई सय ३२ रोपनी क्षेत्रमा फैलिने गरी चोभारमा अहिले ‘काठमाडौं सुक्खा बन्दरगाह’ निर्माण भइरहेको छ।

बन्दरगाह, अन्य कारणले बढिरहेको मानवीय गतिविधि र ध्वनि प्रदूषणले पाहुना पन्छी विस्थापित बन्ने संकेत शुरू भइसकेको पन्छीविद् राजेन्द्र गुरुङले बताउनुभयो।

‘नेपालमा ‘ग्रे हेडेड ल्यापविङ’को सबैभन्दा राम्रो संख्या चोभार र आसपासको भेगमा पाइन्छ तर के गर्नु विकास निर्माणले गर्दा पाहुना पन्छीलाई सो क्षेत्र ठूलो ‘थ्रेट’ बनिरहेको छ।’ –उहाँले भन्नुभयो।

चीनको तिब्बत, मंगोलिया, काजाकिस्तान र आसपासका भेगबाट जाडो छल्न आउने राजहुटिट्याउँको संख्या चोभार र आसपासका भेगमा १ सय ५० देखि २ सयका हाराहारीमा पाइने गरेको गुरुङले जानकारी दिनुभयो।

एक दशकयता चोभार र आसपासमा यो पन्छीको नियमित अनुगमन गर्दै आउनुभएका उहाँले भन्नुभयो– ‘बस्ती विस्तारसँगै पर्याप्त आहारा नहुँदा र घाम ताप्ने क्षेत्र खुम्चिँदा ‘ग्रे हेडेड ल्यापविङ’सँगै अन्य जलपन्छीको संख्या घट्न थालेको छ।’

काठमाडौंको मूलपानी, पोखरा उपत्यका, कोशी टप्पु वन्यजन्तु आरक्ष, चितवनलगायतका भेगमा पनि यो पन्छीको उपस्थिति देखिने गरे पनि बाक्लो चहलपहल चोभार क्षेत्रमा मात्रै रहने गरेको अन्य विज्ञको भनाइ छ।

नदी किनार र सिमसार आसपासमा विचरण गर्ने राजहुटिट्याउँ असोज महिनादेखि जाडो छल्न नेपाल र अन्यत्र बसाइँ सर्ने गर्छन्। करिब ६ महिना नेपालमा विचरण गर्ने यो पन्छीको समूह मौसममा सुधार आएपछि आफ्नो खास बासस्थानमा फर्कने गर्दछ।

राजहुटिट्याउँसहित चोभार र टौदह आउने अन्य पाहुना चराको विशेषता र टौदह आसपासको खस्कँदो पर्यावरणबारे गम्भीर बन्न संरक्षणकर्मीले कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनसहित अन्य पदाधिकारीलाई पटक–पटक ध्यानाकर्षण गराइसकेका छन्।

आन्तरिक पर्यटकको रोजाइको गन्तव्य टौदहमा उत्तरी ध्रुवका विभिन्न मुलुकसहित रूसको साइबेरियादेखि पन्छी आउने गर्छन्। नेपाल पन्छी संरक्षण संघ (बीसीएन) को तथ्याङ्कअनुसार करिब दुई दर्जन पन्छीका प्रजाति टौदह क्षेत्र आउने गर्छन्।

https://youtu.be/ut2NR52PHu8

https://youtu.be/Eyc3w-IOok4

https://youtu.be/nrDDHjN9p24