डेढ वर्षपछि बोलायो नेकपाले केन्द्रीय बैठक

0
Shares

काठमाडौं, (नेस)।

पार्टी एकीकरण भएको डेढ वर्षपछि नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय समितिको बैठक बोलाउने भएको छ।जारी स्थायी समिति बैठकले आगामी पुस २० गतेका लागि केन्द्रीय समिति बैठक बोलाउने निर्णय गर्न लागेको हो।

नेकपा कार्यालय धुम्बाराहीमा शनिबार बसेको स्थायी कमिटी बैठकले केन्द्रीय समितिको बैठक मिति तय गरेको हो।तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपामा हाल चार सय ४५ सदस्यीय केन्द्रीय समिति छ।

एकतापछि पहिलोपटक एजेन्डामाथि छलफल गर्न नेकपाले केन्द्रीय समितिको बैठक बोलाएको हो।स्थायी समितिबाट हुने निर्णय अनुमोदन गर्न केन्द्रीय समितिको बैठक बोलाइएको स्थायी समिति सदस्य देवेन्द्र पौडेलले जानकारी दिनुभयो।

केन्द्रीय कमिटीले सचिवालय सदस्य बामदेव गौतमलाई उपाध्यक्ष बनाउनेलगायतको निर्णयको अनुमोदन गर्नेछ। यसअघि नेकपा सचिवालय बैठकले गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेको थियो।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जारी स्थायी समितिको बैठकमा नेताहरूले उठाएको प्रश्नको जवाफ दिनुभएको छ। उहाँले विभिन्न विषयमा प्रष्ट्याउने र परिमार्जन गर्ने विषयहरू राख्नुभएको थियो।

अध्यक्ष प्रचण्डले पार्टीलाई सुदृढीकरण गर्न, एकतालाई तीब्रता प्रदान गर्न, तीनै तहको सरकारलाई प्रभावकारी बनाउन र देशलाई सही दिशामा अघि बढाउने गरी पार्टी अगाडि बढ्ने बताउनुभएको थियो।

यसैगरी विधान संशोधन प्रस्तावका सम्बन्धमा उठेका जिज्ञासाबारे महासचिव विष्णुप्रसाद पौडेलले प्रस्ट पार्नुभएको थियो।यसैगरी स्थायी समिति सदस्यहरूले सचिवालयको संख्या बढाउन गरेको प्रस्ताव तत्काल पारित नहुने भएको छ।

बैठकमा अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलले सदस्यहरूले उठाएको प्रश्नमाथि जवाफ दिने क्रम बाँकी रहेकाले बैठक जारी रहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो। प्रतिवेदन र विधान संशोधन प्रस्तावलाई निष्कर्ष दिई पारित गर्न उक्त बैठक आज पनि बस्नेछ।

https://youtu.be/nrDDHjN9p24

https://youtu.be/Eyc3w-IOok4

https://youtu.be/ut2NR52PHu8