नेपाल भ्रमण बर्षको पुर्वसन्ध्यामा हाइकिङ्को सुरुवात, हरेक शनिबार आयोजना गरिने


पुष्कर बुढाथोकी, भक्तपुर ।

पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुरलाई आन्तरिक तथा बाह्य पर्यटकको केन्द्रको रुपमा विकास गर्दै अघि बढ्नुपर्ने बताउनुभएको छ ।

नेपाल भ्रमण बर्ष सुरुवातको पुर्वसन्ध्यामा आज पाण्डुबजार हाईटमा रहेको रोयल डाइनस्टी रिसोर्टले आयोजना गरेको हाइकिङको उदघाटन गर्दै उहाँले भक्तपुरमा नीजि क्षेत्रका लगानीकर्ताको आयोजनामा भ्रमण वर्ष सफल बनाउन विभिन्न प्रकारका कार्यहरु भइरहेको जसको उदाहरणको लागि हाइकिङ पनि एक भएको उल्लेख गर्नुभयो ।

पर्यटकलाई धेरै भन्दा धेरै समयसम्म भक्तपुरमा पर्यटक राख्न बस्नेतले उपर्युक्त वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिँदै उहाँले भक्तपुरमा इको भिलेज, होम स्टे, बन्जी जम्प, प्याराग्लाईडिङ लगायतका आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न सक्ने प्रकारका कार्यहरुको विकास गरिरहेको उल्लेख गर्नुभयो ।

उक्त हाइकिङ सूर्र्यिवनायक, घ्याम्पेडाँडा, लाकुरी भञ्ज्याङ, अनन्तलिङ्गेश्वर हुँदै रोयल डाइनस्टीमा आई सम्पन्न भएको छ । हाईकिङ्ग कार्यक्रम हरेक शनिबार आयोजना गरिने रोयल डाइनस्टी रिसोर्टका संचालक बाबु थापाले बताउनुभयो ।

भ्रमण वर्षको स्वागतमा जिल्ला समन्वय समितिको आयोजनामा पुस १५ गते (डिसेम्बर ३१)का दिन न्यातपोल क्षेत्रमा दिप प्रज्वलन गरी सन् २०१९ लाई विदा गरी २०२० लाई स्वागत गर्ने कार्यक्रम रहेको छ ।

सोही दिन परम्परागत तथा आधुनिक सांस्कृतिक कार्यक्रम आयोजना गर्ने र २०२० को पहिलो दिन पहिलो सूर्योदयले स्वागत गर्ने भए अनुसार नै नगरकोटमा जिल्ला स्तरको समिती, चाँगुनारायण नगरपालिका, नगरकोट नाल्दुम पर्यटन बिकास समितिको संयुक्त आयोजनामा जनवरी १ को स्वागतका कार्यक्रम गर्ने तथा प्रभातफेरी गर्ने तय भएको छ ।

सरकारले आगामी सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याई नेपालको पहिचान विश्वसामू अझ बढी विश्वसनीय र प्रभावकारी आधार बनाउने घोषणाका साथ लागिरहेको छ ।भ्रमण वर्षलाई सफलता बनाई देशको आर्थिक वृद्धिदरलाई तिव्र विकास गर्ने मेरुदण्डको रुपमा रहेको पर्यटन क्षेत्रको विकास र विस्तारको कार्यहरु सरकारले देशभर गर्ने तैयारी गरिरहेको छ ।

भक्तपुर जिल्ला नेपालकै एक महत्वपूर्ण पर्यटकीय स्थलको रुपमा परिचित रहेको छ । भक्तपुरको कला, संस्कृति, परम्परा, नगरकोट, घ्याम्पेडाँडा, ५५ झ्याले दरवार, चाँगुनारायण मन्दिर, रानीकोट, साँगामा रहेको कैलाशनाथ महादेव, न्यातपोल, डोलेश्वर मन्दिर अनन्तलिङ्गेश्वर मन्दिर, पाइलट बाबा आश्रम, निर्माणाधिन पाथिभर मन्दिर लगायतका असंख्य पर्यटकीय स्थलहरुको संगम रहेको छ ।

नगरकोट, घ्याम्पेडाँडा, रानीकोटलगायतका क्षेत्रबाट करिव २७ वटा हिमश्रृङ्खलाहरु देख्न पाईन्छ । पर्यटकीय क्षेत्रको संरक्षण तथा सम्बद्र्धन गर्न सके भक्तपुरको मात्र नभई समग्र मुलुकको नै आर्थिक स्थिती सुधार गर्ने तथा लाखौं युवाहरुमा रोजगारीको वातावरण सिर्जना हुने जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल बताउनुहुन्छ ।