उहाँका श्रीमान् टेकबहादुर दडिमाना रोजगारीका लागि भारतको जोधपुर गएपछि एक्ली हुनुभएको हो। करिब १५ वर्षको उमेरमा वैवाहिक जीवनमा बाँधिनु भएकी महिसराले श्रीमान्को सुख त परै जावास् अनुहारसम्म हेर्न नपाएको २० वर्ष भयो।
‘म तीन महिनाकी गर्भवती थिएँ, त्यतिबेला उहाँ (श्रीमान्) घरबाट जानुभएको हो, महिसराले भन्नुभयो– ‘गोपाल(छोरा)को उमेर पनि १९ पूरा भई २० लागिसक्यो तर उहाँ आउनुभएन।’ सानो छँदा छोराले ‘बाबा खोई ?’ भनि प्रश्न गर्दा उहाँ ‘देश’(भारत) गएको भनि जवाफ दिनुहुन्थ्यो।
साथीसंगीका बुवा ‘देश’बाट फर्कंदा आफ्नो बुवा नफर्केपछि गोपाल बाबा किन आएनन् भनेर सोध्ने हुन्थ्यो। महिसरा छोरालाई फेरि कुनै बहाना बनाएर चुप लाउने गरे पनि, जब गोपाल अलि ठूला भए उहाँले भन्नै पर्यो सत्य कुरा। ‘यो २० वर्षसम्म न म बिधवा जस्ती भएँ न सधवा जस्ती, मलिन अनुहार बनाउँदै महिसराले भन्नुभयो– ‘श्रीमान् छन् भन्ने कि छैनन् भन्ने दुविधा भएको छ।’
माईती, देवर, जेठाजुको सहयोगमा महिसराले छोरालाई हुर्काउनुभयो। छोरालाई दुःखकष्ट गरेर भए पनि १२ कक्षासम्म पढाउनुभयो। ‘स्कुलमा १२ को एक विषय अनुत्तीर्ण भयो, फेरी (ग्रेड बृद्धि) दिन पाउने भन्नुभाथ्यो सरले, तर छोरो पनि रोजगारीका लागि भारत गएको बताउँदै उहाँले भन्नुभयो– ‘मैले दुःख गरेर हुर्काएँ, पढाएँ पनि पढाइमा राम्रै थियो तर बीचमै पढाइ छोडेर छोरो भारत गयो, मलाई फेरि दुःख शुरु भए।’
उहाँ छोराको खुसीमा आफ्नो दुःख बिर्सन खोज्नुहुन्थ्यो तर त्यो खुसी पनि मिल्न नसकेकोमा उहाँ अहिले झन् दुःखी हुनुभएको छ। श्रीमान् भारतमै हराएको घटनाले पनि छोरा भारत नपसोस् भन्ने चाहना थियो महिसराको। तर उमेर बढ्दै जाँदा छोराले आमाको दुःख बुझ्यो होला, मुग्लान पस्यो। पेट पाल्नकै लागि मुग्लान पस्नुपर्ने लाखौं युवाहरूको पीडाले गोपाललाई पनि छोयो।
महिसराको जस्तै अवस्था छ कृष्णा गिरीको पनि। करिब १६ वर्षको उमेरमा वैवाहिक जीवनमा बाँधिनुभएकी कृष्णा पनि बिगत १६ वर्षदेखि श्रीमान्को पर्खाइमा घरमा बस्नुभएको छ। संकटकालको समय थियो, असारको महिना, तर साल कुन हो कृष्णालाई थाह छैन। कृष्णाका श्रीमान् दीपक गिरी घरबाट केही नबोली चुपचाप निस्किनुभयो। गाउँतिरै डुल्दैहोलान् भन्ने सोच्नुभएकी कृष्णाले श्रीमान् कहाँ गए अहिलेसम्म खबर पाउनुभएको छैन।
दिन, महिना, वर्ष बित्दै जाँदा १६ वर्ष पूरा भएछ, तर दीपक घर फर्केर आउनुभएन। दीपक घरबाट जाँदा गर्भमा रहेकी छोरी लक्ष्मी पनि अहिले १५ वर्ष पूरा भइसकिन्। तर, दीपकको भने अहिलेसम्म अत्तोपत्तो छैन। ‘पहिले त श्रीमान् आउनुहुन्छ भन्ने सोच्थँे, गाउँका अरु व्यक्ति भारतबाट आएपछिसँगै आउँछन् कि, केही खबर ल्याउँछन् कि भन्ने आश हुन्थ्यो, आँखाभरि आँशु बनाउँदै उहाँले भन्नुभयो– ‘अब त के आउनुहोला र ? आउने आशा पनि मरिसक्यो।’
महिसरा र कृष्णा मात्रै हैनन् गाउँमा थुप्रै महिलाहरूले यस्तो पीडा खेपिरहनुपरेको छ। तीन वर्ष पहिले महिसरा र कृष्णाले श्रीमान्को खोजीका लागि जिल्ला प्रहरी कार्यालय डोटीमा निवेदनसमेत दिनुभएको थियो। तर प्रहरी कार्यालयबाट पनि कुनै जानकारी नआएपछि उहाँहरूले अहिले श्रीमान् आउने आशा मारिसक्नुभएको छ।
प्रतिक्रिया