काठका पोलमुक्त अभियानमा वितरण केन्द्र



नेपाल समाचारपत्र, काभ्रे।

नेपाल विद्युत प्राधिकरण पाँचखाल वितरण केन्द्रले ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै घर दैलो सेवा अभियान शुरु गरेको छ। जसका लागि केन्द्रले तालिका निर्माण गरी विभिन्न प्रकारका सेवाहरू उपलब्ध गराउन श्ुरु गरेको हो। हाई भोल्टेज लाइन भएका पोलहरूलाई सुधार गरी ११ मिटर कायम गरिने वितरण केन्द्र प्रमुख मेघनाथ ढकालले बताउनुभयो।

‘अरनिको हाइवे सुधार अन्तर्गत हाइभोल्टेजमा रहेका सबै पोलहरूको सुधार भएको छ,’ ढकालले भन्नुभयो– ‘शाखा लाइनमा रहेका विद्युतका पोलहरूमा छोएका रुखहरू, हाँगा हटाई काठका कुहिन लागेका र मक्किएका पोलहरू हटाउन शुरु गरेका छौं।

चालु आर्थिक वर्षभित्रै हामी काठका पोल मुक्त क्षेत्र बनाउने गरी एक हजार शाखा लाइनमा स्टिलका पोलहरू गाड्दै छौं।’ सात हजार पाँच सय वटा पोल फेर्नु पर्ने आवश्यक छ। दुई महिनामा शाखा लाइनका तीन सय काठका पोल परिवर्तन गरिएको छ भने एक हजार वटा पोल तीन महिना भित्र फेरिने बताइएको छ।

कात्तिक १ गतेबाट पाँचखालमा औपचारिक रूपमा वितरण केन्द्रले काम शुरु गरेको थियो। दुई महिनाको अवधिमा झण्डै दुई सय ५० वटा मिटर ठोक्ने कार्य सम्पन्न भएको छ भने एक सय ५० भन्दा बढी लाइन काटिएको छ। बाँकी बक्यौता तिर्नेहरूको भिड लाग्न थालेको वितरण केन्द्र प्रमुख ढकालले बताउनुभयो।

एक सय भन्दा बढीलाई विद्युत चोरी अभियोगमा कारवाही गरिएको छ। पाँचखाल वितरण केन्द्र अन्तर्गत पाँच करोड बक्यौता असुल गर्न बाँकी छ। काटिएका लाईन जोड्ने ७० जनाबाट १५ लाख राजश्व संकलन भएको छ। चुहावट कारबाहीमा एक सय ग्राहकबाट छ लाख ५० हजार संकलन भएको छ।

दैनिक बक्यौता उठ्ने र मिटर जडान माग गर्ने तीन गुणा बढेको छ। अहिलेको घाटा दुई सय ४५ बाट एक सय ५५ बनाउन आक्रामक रूपमा चोरी नियन्त्रण शुरु भएको छ। नयाँ मिटर दुई सय ५० वटा नचलेका कारण बदली गरिएको छ। चार सय ५० वटा नयाँ मिटर थप गरिएको छ।

भुम्लु गाउँपालिका–६ का अध्यक्ष भरतबहादुर शिवभक्तिले विद्युत महसुल बुझाउन बाँकी स्थानीयहरूलाई पत्र काटेरै महसुल तिर्न र नतिरे सेवा सुविधा रोक्का राख्ने चेतावनी दिनु भएको छ। स्थानीयको पनि साथ र सहयोग भएसँगै प्राधिकरणको पाँचखाल वितरण केन्द्रले स्थानीयहरूको आवश्यकता अनुसार मिटर जडान कार्य शुरु गरेको छ।

मिटर जडान भएका तर सिल नलगाई चुहावट गरिएका मिटरहरूमा रि–सिल गरिएको छ। मिटर जडान, मिटर रिडिङ तथा महसुल संकलन, विद्युत चोरी नियन्त्रण, मिटरमा सिल लगाउने, वितरण लाइन विस्तार, वितरण लाइन सुधार, संरचना बनाउने मापदण्ड र लाइनको रुट परिवर्तन, अति विपन्न वर्ग तथा सांस्कृतिक महत्वका सम्पदाहरूमा निःशुल्क मिटर जडान, विद्युतीय जोखिम तथा सुरक्षा कार्यक्रमलाई प्राथमिकतामा राखेको वितरण केन्द्र प्रमुख ढकालले जानकारी दिनुभयो।

पाँचखाल, हिगुवापाटी, दोलालघाट, पलाञ्चोक नो लाईट, लाईन विस्तार तथा मर्मत, नयाँ मिटर जडान, सिल चुहावट बक्यौता, मिटर रिडिङ तथा महसुलका लागि अलगअलग व्यक्तिलाई जिम्मेवारी दिई प्रभावकारी सेवा शुरु गरिएको छ।

पाँचखाल र मण्डनदेउपुर नगरपालिका, भुम्लु, तेमाल र चौरीदेउराली गाउँपालिकाका सामुदायिक विद्युतिकरण सेवा लिनेसमेत गरी २७ हजार ग्राहकलाई सेवा दिन थालेको छ।

प्रतिक्रिया दिनुहोस्