त्रिविको दीक्षान्तमा १४ प्रतिशत विद्यार्थी उपस्थित

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

त्रिभुवन विश्वविद्यालयको ४५औं दीक्षान्त समारोहमा करिब १४ प्रतिशत विद्यार्थी सहभागी भएका छन्। ५७औं ग्रेस लिस्टको उक्त दीक्षान्तमा २०७५ साल असार १ गतेदेखि २०७६ साल जेठ ३१ गतेसम्म ट्रान्सकृप्ट लिएका ७० हजार ७७ जना विद्यार्थी दीक्षित हुन योग्य थिए।

तर दीक्षान्तमा सहभागी हुन फारम भर्नेको संख्या १० हजार १ सय ८३ जना मात्रै थियो। तीमध्ये पनि अधिकांश विद्यार्थी उनुपस्थित भएका थिए। यस वर्ष सबैभन्दा बढी व्यवस्थापन संकायका २२ हजार ७ सय ९८ विद्यार्थीले ट्रान्सकृप्ट लिएका थिए।

शिक्षाशास्त्र संकायका २० हजार ६, मानविकी तथा सामाजिक शास्त्रका १३ हजार ६ सय ९५ र विज्ञान तथा प्रविधि अध्ययन संस्थानका ६ हजार ४ सय ४३ विद्यार्थीले उक्त अवधिमा ट्रान्सकृप्ट लिएका विश्वविद्यालयले जनाएको छ।

इन्जिनियरिङतर्फ २ हजार ९ सय ७२, चिकित्सा शिक्षामा १ हजार ७ सय ३७, कानुनमा १ हजार ६ सय ६६, कृषि तथा पशु विज्ञानमा ५ सय ५ जना र वन विज्ञानमा २ सय ६४ ले उक्त अवधिमा ट्रान्सकृप्ट लिएका थिए।

विद्यावारिधि, एमफिल, स्नातकोत्तर र स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीलाई विश्वविद्यालयले कार्यक्रम गरेर दीक्षित गरेको हो। गत वर्षको दीक्षन्तदेखि विश्वविद्यालयले दीक्षित हुन चाहने विद्यार्थीको फारम अनलाइनबाट समेत भर्ने व्यवस्था मिलाएको थियो।

दीक्षान्त समारोहमा विभिन्न ३१ वटा पदक तथा पुरस्कारबाट विभिन्न विद्यार्थी पुरस्कृत भएका थिए। पुरस्कृतमध्ये उमेश आचार्यले र विद्यामान महतराले तीन–तीन वटा पदक पाउनुभएको छ। आचार्यले चान्सलर, त्रिवि प्राध्यापक संघ र रामप्रसाद मानन्धर स्वर्णपदक प्राप्त गर्नुभएको छ।

महतराले खगेन्द्रमान सिंह, तारापद र चौधरी र चन्द्रराज ढुंगेल स्मिृति पदक प्राप्त गर्नुभएको छ। त्यस्तै संगिना मानन्धरले पिएम सिंह र अमृत पदक प्राप्त गर्नुभएको छ।

एलिसा खरेलले भाइस चान्सलर, भ्वाइस सत्यमा पदक पाउनुभएको छ। अन्जना शर्माले पिपल्स क्याम्पस तीर्थरत्न र ज्ञानप्रसाद पुरस्कार पाउनुभएको छ।
२०१६ साल असार ३० गते स्थापना भएको विश्वविद्यालयमा ५ वटा अध्ययन संस्थान तथा ४ संकायअन्र्तगत ६२ आंगिक र १ हजार ६१ सम्बन्धन प्राप्त कलेज सञ्चालनमा छन्।

कार्यक्रममान बोल्दै त्रिविका सहकुलपति एवं शिक्षामन्त्री गिरिराजमणि पोखरेलले ‘सार्वजनिक विद्यालयमा अध्यापन गर्ने शिक्षकसँग शिक्षाशास्त्रको प्रमाणपत्र छ, लाइसेन्स पनि छ, स्थायी पनि भएका छन्, तर नतिजा अपेक्षाकृत नभएको बताउनुभयो।

उहाँले तीन वर्षे प्राज्ञिक कोर्षमा कम्तीमा ५० प्रतिशत उपलब्धि हासिल गरेकालाई मात्र पेसागत कोर्समा भर्ना लिन सके प्रतिभावान् व्यक्तिहरू शिक्षण पेसामा लाग्ने र सार्वजनिक शिक्षा प्रणालीको सवलीकरणमा योगदान पुग्ने बताउनुभयो। पोखरेलले उच्च शिक्षा सुधार गर्न राष्ट्रिय शिक्षा नीति आएको बताउनुभयो।

उहाँले दीक्षित विद्यार्थीलाई शुभकामना दिँदै भविश्यमा विश्वविद्यालय प्रति थप उत्तरदायी हुन आग्रह गर्नुभयो। कार्यक्रममा ढाका विश्वविद्यालयका उपकुलपति एवं प्रमुख अतिथि मोहम्मद अख्तरुहजमानले नेपाल र बंगलादेशको संस्कृति सुहाउदो भएको चर्चा गर्दै एक अर्को बीचको शैक्षिक सम्बन्ध वृद्धि गर्नुपर्ने बताउनुभयो।

उहाँले त्रिविले आफूलाई प्रमुख अतिथिको रूपमा आमन्त्रण गरेकोमा खुसी व्यक्त गर्दै दुई देशबीच शिक्षा क्षेत्रमा थप सहयोग हुने अपेक्षा राख्नुभयो। उपकुलपति प्राडा. धर्मकान्त बास्कोटाले त्रिविलाई सेन्टर अफ एकेडेमिक एक्सिलेन्सको रूपमा अघि बढाउनुपर्ने बताउनुभयो।

उहाले पछिल्लो समयमा त्रिविले शैक्षिक सुधारमा फड्को मारेको दाबी गर्नुभयो। भौतिक प्रगतिको बारेमा जानकारी गराउँदै उहाँले भन्नुभयो– ‘भुकम्पले क्षतिग्रस्त भएका त्रिविका भवन पुनर्निर्माणको क्रममा रहेको बताउनुभयो।

हामीले १० अर्ब रुपियाँ माग गरेकोमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले १ अर्ब रुपियाँ मात्र उपलब्ध गराएकोमा दुःख व्यक्त गर्दै भन्नुभयो– ‘त्रिविले तैपनि पुननिर्माको काम जारी राखेको छ।’

तस्वीर : उजोल डंगोल