‘भक्तलाल–तुल्सीमाया स्मृति पत्रकारिता पुरस्कार’ स्थापना

0
Shares

काठमाडौं, (नेस)।

नेपाल पत्रकार महासंघ र मिश्री–विजय फाउन्डेसनबीच ‘भक्तलाल–तुल्सीमाया स्मृति पत्रकारिता पुरस्कार’ स्थापना गर्न बिहीबार सहमति गरिएको छ।नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले ‘भक्तलाल–तुल्सीमाया स्मृति पत्रकारिता पुरस्कार’को स्थापनाले नेपालको जहानीया राणा शासन अन्त्यका लागि सुब्बा भक्तलाल श्रेष्ठ र उहाँकी जीवन संगिनीले गर्नुभएको योगदानका बारेमा चर्चा हुने बताउनुभयो।

उहाँले उक्त पुरस्कारले पत्रकारलाई हौसला दिने भन्दै पुरस्कार स्थापना गर्ने श्री मिश्री–विजय फाउन्डेसनलाई धन्यावाद व्यक्त गर्नुभयो। विसं १९९७ का चार शहीदहरूमध्ये गंगालाल श्रेष्ठका कान्छा भाई तथा मिश्री–फाउन्डेसनका अध्यक्ष विजयलाल श्रेष्ठले आफ्ना मातापिताले गर्नुभएको योगदानको सम्मान स्वरुप उक्त पुरस्कारको स्थापना गरिएको बताउनुभयो।

पत्रकारिता क्षेत्रमार्फत नेपालको राष्ट्रियता, सामाजिक न्याय, समाजसेवा, पर्यावरण संरक्षणलगायतका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने पत्रकारलाई सम्मान गरी मर्यादित, जिम्मेवार र सेवामुखी पत्रकारिताको विकासमा टेवा पुर्याउने उद्देश्यले यस पुरस्कारको स्थापना गरिएको छ।

उक्त पुरस्कारको राशी १ लाख ११ हजार १ सय ११ रुपियाँ रहेको छ। पुरस्कार ‘भक्तलाल स्मृति दिवस’को अवसर पारेर फागु पूर्णिमाको भोलिपल्ट दुवै संस्थाको संयोजनमा प्रदान गरिने छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा, महासंघका कोषाध्यक्ष राजेश मिश्र र मिश्री–विजय फाउन्डेसनका सचिव अरुण श्रेष्ठको उपस्थितिमा एक कार्यक्रमका बीच सहमतिपत्रमा हस्ताक्षर भयो।

सहमतिपत्रमा नेपाल पत्रकार महासंघको तर्फबाट महासंघका अध्यक्ष आचार्य तथा मिश्री–विजय फाउन्डेसनको तर्फबाट फाउन्डेसनका अध्यक्ष श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ।