राष्ट्रपति ट्रम्पविरुद्धको महाअभियोग प्रतिनिधिसभाबाट पारित

0
Shares

वासिंगटन, (एजेन्सी)।

अमेरिकाको संसद्को तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिवले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोगलाई पारित गरेको छ। मतदानपछि प्रतिनिधिसभाकी सभामुख नेन्सी पेलोसीले आफ्नो संवैधानिक दायित्व पूरा गरेकोमा सदन र डेमोक्र््याट सांसदहरुको प्रसंसा गरिन्।

अमेरिकी इतिहासमा ट्रम्प तेस्रो राष्ट्रपति हुन् जसको विरुद्ध महाअभियोग पारित भएको छ। डेमोक्र््याट सांसदको बहुमत भएको अमेरिकी संसद्को तल्लो सदनमा १ सय ९७ मतविरुद्ध २ सय ३० मतले महाअभियोगलाई पारित गरेको हो।

अर्को महिना यो मामिला संसद्को माथिल्लो सदन सिनेटमा जानेछ तर सिनेटमा रिपब्लिकन सांसदको पकड रहेको छ। त्यसैले राष्ट्रपति ट्रम्पलाई उनको पदबाट हटाउन सक्ने सम्भावना अत्यन्त न्यून छ।

ट्रम्पमाथि युक्रेनका राष्ट्रपति बोलोडिमिर जेलेन्स्कीलाई सन् २०२० का डेमोक्र््याटिक पार्टीको सम्भावित उम्मेदवार जोय बाइडेन र उनका छोराविरुद्ध भ्रष्टाचारको जाँचका लागि दबाब दिएको आरोप छ।

बाइडेनका छोरा युक्रेनको एक उर्जा कम्पनीका उच्च अधिकारी हुन्। महाअभियोग प्रक्रियाअन्तर्गत ट्रम्प र युक्रेनका राष्ट्रपति बोलोडिमिर जेलेन्स्कीबीच फोन वार्ताको जाँच भयो। त्यसपछि डेमोक्र््याटिक पार्टीको नियन्त्रण रहेको न्यायिक समितिले उनीविरद्ध औपचारिक आरोप तय गरेको हो।

उक्त फोन वार्तामा राष्ट्रपति ट्रम्पले कथित रूपमा युक्रेनी उर्जा कम्पनी बुरिज्माका लागि काम गरिसकेका पूर्वउपराष्ट्रपति जोय बाइडेनर उनका छोरा हन्टर बाइडेनविरुद्ध जाँच गर्न भनेका थिए।

न्यायिक समितिका प्रमुख तथा डेमोक्र््याटिक नेता जेरी नाडलेरले ट्रम्पमाथि दुई प्रमुख आरोप भएको बताए। पहिलो ट्रम्पले सत्ताको दुरुपयोग गरेको र अर्को राष्ट्रपतिले संसद्को काममा बाधा पुर्याएको।

राष्ट्रपतिमाथि राजनीतिक लाभका लागि युक्रेनले पाउने भनिएको आर्थिक मद्दत रोकेको आरोप पनि छ। तर राष्ट्रपति ट्रम्पले ती सबै आरोपलाई अस्वीकार गर्दै संसद्ले आफूविरुद्धको महाअभियोग प्रक्रिया छिट्टै पूरा गर्नुपर्ने माग गरिरहेका छन्।

प्रतिनिधिसभाबाट पारित भइसकेको महाअभियोगको मुद्दामा रिपब्लिकन पार्टीको बहुमत रहेको सिनेटमा ट्रम्पविरुद्ध जाँच शुरु हुनेछ। यदि राष्ट्रपति ट्रम्पविरुद्ध दुई तिहाइ बहुमतसहित अभियोग प्रमाणित हुन्छ भने अमेरिकी इतिहासमा महाअभियोगको प्रक्रियाबाट पदबाट हटाइने उनी पहिलो राष्ट्रपति हुनेछन्।

यद्यपि यो स्थिति आउन कठिन हुने अनुमान गरिएको छ। ट्रम्प र उनका सहयोगी यो सबै जाँच प्रक्रियामा प्रश्न उठाइरहेका छन्।
ह्वाइटहाउस र केही रिपब्लिकन नेता यो सुनुवाइलाई दुई हप्ताभित्र समाप्त पार्न चाहन्छ।

महाअभियोग ल्याइएका अमेरिकी राष्ट्रपति

अमेरिकाको इतिहासमा मात्र दुई राष्ट्रपति, सन् १८८६ मा एन्ड्रयु जोनसन र सन् १९९८ मा बिल क्लिन्टनविरुद्ध महाअभियोग ल्याइएको थियो। तर उनीहरुलाई पदबाट हटाउन सकेको थिएन।

सन् १९७४ मा राष्ट्रपति रिचर्ड निक्सनमाथि आफ्ना विरोधीको जासुसी गर्न लगाइएको आरोप लागेको थियो। यसलाई वाटरगेट काण्डको नाम दिइएको थियो।

तर महाअभियोग प्रक्रिया चलाउनुअघि नै राजीनामा दिएका थिए। उनलाई के थाहा थियो भने, सिनेटमा पुगेपछि उनलाई राजीनामा दिनैपर्ने सम्भावना धेरै थियोे।