गुणस्तरीय दूधका कुरा


सामान्यतया गाईको दूधमा करिब ८७ प्रतिशत र भैँसीको दूधमा करिब ८२ प्रतिशत पानीको मात्रा हुन्छ। दूधको पानीमा ठोस पदार्थहरू घुलित, कोलाइड वा इमल्सन अवस्थामा रहेका हुन्छन्। घुलित अवस्थामा ल्याक्टोज, केही अंश खनिज तत्वहरू र भिटामिन पाइन्छ।

प्रोटिन, भिटामिन र खनिज तत्वहरू कोलाइड अवस्थामा र चिल्लो पदार्थहरू इमल्सन अवस्थामा रहेका हुन्छन्। दूध धेरै परिमाणमा अपारदर्शी सेतो रंग हुन्छ। दूधको सेतो रंग कोलाइडल अवस्थामा रहेको क्याल्सियम क्याजिनेटका कारणले भएको हो।

दूधको पहेँलो रंग क्यारोटिनको कारणले र हरियोपन ल्याक्टो फ्लेबिनका कारणले भएको हो। दूधको स्वाद केही गुलियो हुन्छ। ल्याक्टोज (दूधको चिनी) का कारणले दूध गुलियो भएको हो। गोठको गोबरको गन्ध दूधले सोस्ने भएकाले काउवे गन्ध आउन सक्छ।

बकेर्नो, थुनेलो रोगले संक्रमण गरेको अवस्थामा क्लोराइडको बढ्दो परिमाणले गर्दा दूधको स्वाद नुनिलो हुन सक्छ। दूधमा भएको पाचन रसलाई पेजले चिल्लो पदार्थहरूलाई खण्डीकृत गर्ने भएकाले बकेर्नो भैँसीको दूध केही तीतो हुन सक्छ।

बढी गन्ध आउने वस्तुहरू जस्तै– प्याज, लसुन र अन्य उडनशील गन्ध आउने घाँस–बिरुवाहरू खाएका पशुहरूबाट उत्पादित दूधमा सोही अनुसार गन्ध आउन सक्छ।

दूधमा रहेका विभिन्न तत्वहरूको आफ्नै घनत्व हुन्छ। दूधको बनावटलाई फरक पार्ने तत्वहरूमा प्राणी वा जातीय विशेष, पशुको नश्ल, वंशज गुण, बेतको चरण, पशुको उमेर, मौसमको प्रभाव, रोग तथा स्तन संक्रमण, आहारा, प्रथम तथा अन्तिम सिर्कोको दूध, दूध दुहुने समय, पशु कल्याण अवलम्बनको अवस्था आदि हुन्।

स्वच्छ दूध उत्पादनको लागि दुहुनो पशु स्वस्थ हुनुपर्ने, दूध दुहुने व्यक्ति स्वच्छ र सफा हुनुपर्ने, दूध दुहुने र राख्ने भाँडाकुँडाहरू तथा उपकरणहरू स्वच्छ र सफा हुनुपर्ने, दूध दुहुने तथा ढुवानी गर्ने भाँडा स्टेनलेस स्टिल वा आल्मुनियमबाट बनेका हुनुपर्ने, बिरामी पशुको उपचार पशु चिकित्सकको सिफारिसमा गर्नुपर्ने र संक्रामक रोग लागेका पशुको दूध उचित ढंगले नष्ट गर्नुपर्ने, बिक्री गर्ने दूध दुहेको लगत्तै वा २ घण्टाभित्र संकलन केन्द्रमा पुर्याउनुपर्ने, दूधमा पानीलगायत कुनै पनि पदार्थ मिसावट गर्न नहुने, संकलित दूधलाई कम्तीमा ४ डिग्री सेन्टिग्रेट तापक्रममा चिस्याउने गर्नुपर्दछ।

दूधको गुणस्तर दुधालु पशुले खाएको घाँस कस्तो माटोमा उब्जेको हो भन्ने कुरादेखि उसले पिउने पानी र पशुसँग गरिने व्यवहार तथा दूध दुहुने व्यक्ति वा दूधको सम्पर्कमा आउने व्यक्तिको आनिबानीले समेत महत्वपूर्ण भूमिका खेल्छ।

वास्तवमा हाम्रो दूध जति उत्पादन हुन्छ, त्यो सबै गुणस्तरीय हुन सकेको छैन। यस कारण एकातिर दूधमा आत्मनिर्भर हुनु छ भने अर्कोतिर गुणस्तरीय दूध उत्पादन गरी उपभोक्ताहरूलाई खाद्य तथा पोषण सुरक्षाको प्रत्याभूति गराउन पनि त्यत्तिकै महत्वपूर्ण छ।

यस कारण असल पशुपालन अभ्यास र असल उत्पादन अभ्यास, दूध तथा दुग्ध पदार्थको स्वच्छता, दूध संकलन केन्द्र, दूध चिस्यान केन्द्रको मापदण्ड, डेरी पसलको मापदण्डको सफल कार्यान्वयन गर्न सकेमा आयआर्जन, रोजगारी र खाद्यसुरक्षाको दिगोपना हुनुको साथै स्वस्थ हुन गुणस्तरीय दूध अपरिहार्य छ।

– माधव न्यौपाने, कीर्तिपुर।