नेपाली भूमि कालापानी, सुस्ता, लिम्पियाधुरा र लिपुलेकसमेत राखेर छिमेकी भारतले हालै आफ्नो नयाँ नक्सा सार्वजनिक गरेपछि नेपली सार्वभौमिकतामाथि हस्तक्षेप भएको विरोधमा साहित्यिक अभियान शुरू भएको छ।
|
भारतको हेपाहा प्रवृत्ति र सीमा अतिक्रमणविरुद्ध विभिन्न जिल्लाका स्रष्टाहरूले ऐक्यबद्धतासमेत जनाएका छन्। उनीहरूले आफ्नो रचनामार्फत नेपाली राष्ट्रियता र अखण्डतामाथि भएको प्रहार कुनै पनि अवस्थामा सैह्य नहुने बताउँदै सीमा अतिक्रमणविरुद्ध सरकारलाई समेत ठोस कदम चाल्न अनुरोध गरेका छन्।
राष्ट्रिय मानव अधिकार प्रतिष्ठान भक्तपुरले शुरू गरेको अभियानका क्रममा एक दर्जन स्रष्टाले रचनामार्फत भारतीय विस्तारवादी नीतिको विरोध गरेका थिए।
काभ्रे नालाका स्रष्टा नवराज दाहाल अन्य सहभागी स्रष्टाले भारतले गरेको सीमा अक्रिमणविरुद्ध जुरुक्क उठ्नुपर्ने भावका गीत, गजल, कविता, मुक्तक वाचन गरेका थिए। कार्यक्रममा भक्तपुर झौखेलका बिके माकजू, हरिसुन्दर छुकां श्याम माकजू, लालबहादुर भुजेल, विवि दुवाल, काशिराम विरस, विकल प्रजापति, सूर्यप्रसाद तिमल्सिनालगायतले जोसिला रचना वाचन गरेका थिए।
प्रतिष्ठानका अध्यक्ष डा. राजेन्द्र कोजूले देशको सार्वभौमिकता रक्षाका लागि सबैको भूमिका जरुरी रहेको उल्लेख गर्दै नेपाली भूमिमाथि निरन्तर हस्तक्षेप हुनुमा भारत मात्र दोषी नभई नेपालका विभिन्न राजनीतिक दलका नेताहरू पनि दोषी रहेको बताउनुभयो। उहाँले सार्वभौमिकता खतरामा पर्दै गएकाले त्यसको रक्षाका लागि नयाँ पुस्तामा पनि जागरण जरुरी रहेकोमा जोड दिनुभयो।
कार्यक्रममा ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपालले कवि विकल प्रजापतिले लेखेको ब्याक अफ इन्डिया बोलको गीतको विमोचन गर्दै साहित्यिक अभियानले सीमा अतिक्रमण गर्नु भारतीय विस्तारवादलाई पाठ सिकाउन सहयोग मिल्ने बताउनुभयो। उहाँले सीमा अतिक्रमणविरुद्ध सबै एकजुट भई लाग्नुपर्ने आवश्यकता औंल्याउनुभएको थियो।











प्रतिक्रिया