नेकपा स्थायी समिति बैठक : सरकारमाथि नेपालको आक्रोश

0
Shares

काठमाडौं, (नेस)।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी स्थायी समितिको बैठकमा बोल्दै वरिष्ठ नेता माधवकुमार नेपालले सरकारले गरेको कामको आलोचना गर्नुभयो। उहाँले सरकारले राम्रो काम गरेको जानकारी दिनका लागि नेताहरूलाई जनतामाझ जान पनि सचेत गराउनुभयो।

नेता नेपालको भनाइ उद्धृत गर्दै एक स्थायी समितिका सदस्यले नेपाल समाचारपत्रलाई भने– ‘नेतृत्वले गल्ती सच्याउन तयार हुनुपर्छ, सरकारले राम्रो मात्र गरेको छ भन्ने कुरा ठीक होइन।’

ती नेताका अनुसार नेता नेपालले पार्टीले गरेको निर्णय कार्यान्वयन गर्न ढिलासुस्ती भइरहेको बताउँदै बैठकमा नेतृत्वले आत्मालोचना गर्ने र पुनः सोही प्रवृत्ति दोहोर्याउने कार्यशैली गलत भएको भन्दै आक्रोश व्यक्त गर्नुभयो।

उहाँले अमेरिकाको मिलिनियम च्यालेन्ज कोअपरेसन इन्डो प्यासिफिक रणनीतिअन्तर्गत हो भन्ने बुझाइका कारण समस्या भएको भन्दै यसलाई प्रस्ट पार्नुपर्ने विचार व्यक्त गर्नुभयो।नेकपाभित्र बीआरआई र इन्डो प्यासिफिक रणनीतिको बारेमा चर्काचर्की बहस भएको छ।

वरिष्ठ नेता झलनाथ खनालले पनि राजनीतिक प्रतिवेदनमा बीआरआई र इन्डो प्यासिफिक रणनीतिलाई प्रस्तुत गर्ने तरिका गलत भएको भन्दै आलोचना गर्नुभएको छ।

स्थायी समिति बैठकमा महासचिव विष्णु पौडेलले बोल्न बाँकी रहेको छ। त्यसैगरी बैठकमा नेताहरूले उठाएको प्रश्नको अध्यक्ष प्रचण्डले जबाफ दिने कार्यक्रम पनि बाँकी छ।

नेताहरूले उठाएको प्रश्नको जबाफ दिन र अध्यक्ष ओलीसँग परामर्श गर्नुपर्ने भएको भन्दै प्रचण्डले बैठक एक दिनको लागि स्थगित गर्नुभएको छ।

नेताहरूले धारणा राख्ने क्रम बिहीबार सकिएको छ। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको राजनीतिक प्रतिवेदन र महाचिव विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधनमाथि नेताहरूले धारणा राख्ने क्रम सकिएको हो।

बिहीबारको बैठकमा १० जना नेताहरूले आ–आफ्नो धारणा राख्नुभएको थियो। धारणा राख्ने नेतामा वरिष्ठ नेताहरू खनाल, नेपाल, सचिवालय सदस्य ईश्वर पोखरेल, रामबहादुर थापा र नारायणकाजी श्रेष्ठ तथा स्थायी कमिटी सदस्यहरू किरण गुरुङ, चक्रपाणि खनाल, सुवास नेम्वाङ, विष्णु रिमाल, भीम आचार्य रहनुभएको थियो।