सिमानाको दुरुपयोग भयो : भारत

0
Shares

काठमाडौं, (नेस)।

नेपाल र भुटानसँगको खुला सीमाको फाइदा उठाएर केही गलत तत्वले भारतमा अस्थिरता निम्त्याउने प्रयास गरिरहेको भारतीय गृहमन्त्री अमित शाहले दाबी गर्नुभएको छ।

नेपाल र भुटान आफ्नो मुलुकका मित्र राष्ट्र भएकाले मित्र मुलुकबाट कुनै खतरा नभए पनि भारतमा शान्ति नचाहने तत्वले खुला सीमाको फाइदा उठाइरहेको उहाँको तर्क छ।

भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) को ५६औं स्थापना दिवसको अवसरमा बिहीबार दिल्लीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शाहले यस्तो दाबी गर्नुभएको हो।

सीमा क्षेत्रबाट लागूपदार्थसहित अन्य गैरकानुनी वस्तुको तस्करीसमेत हुने गरेको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्षसमेत रहनुभएका उहाँको भनाइ थियो।

नेपाल र भुटानसँगको करिब २ हजार ४ सय ५० किमी लामो खुला सीमाको सुरक्षार्थ भारतले एसएसबीलाई खटाउँदै आएको छ भने नेपालतर्फबाट सशस्त्र प्रहरी बल सीमा सुरक्षाका लागि खटिँदै आएको छ।

भारतसँग सीमा जोडिएका क्षेत्रमा सरकारले १ सय ७ वटा ‘बोर्डर आउट पोस्ट’ (बीओपी) स्थापना गरेकोमा मन्त्रिपरिषद्को पछिल्लो निर्णयअनुसार थप एक सय १० पोस्ट थपिने छन्।