भारत र चीन सिमानामा सुरक्षा पोस्ट थपिने

११ भन्सार र आठ औद्योगिक क्षेत्रबाट हट्दै सशस्त्र प्रहरी

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

सरकारले अन्तरदेशीय सीमाक्षेत्रमा देखिएको समस्या समाधान गर्न एक सय १४ वटा सीमा सुरक्षा पोस्ट (बोर्डर आउट पोस्ट– बीओपी) थप गर्ने निर्णय गरेको छ।सशस्त्र प्रहरी बललाई सरकारले सीमा सुरक्षामा परिचालन गर्ने नीति अख्तियार गरेको छ।

नेपाल–भारत सीमाक्षेत्रमा हुने अन्तरदेशीय अपराध नियन्त्रण र सीमा क्षेत्रलाई व्यवस्थित गर्न एक सय १० वटा बोर्डर आउटपोस्ट थप गरेको छ भने चिनियाँ सिमानामा चार पोस्ट बढाइएको छ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सीमाक्षेत्रमा हुने विभिन्न प्रकारका अपराधलाई नियन्त्रण गर्न र अन्तरदेशीय सीमालाई व्यवस्थित गर्न सरकारको निर्णयले मद्दत पुग्ने जानकारी दिनुभयो।

खुला सीमानाका कारण नेपाल–भारत सीमाक्षेत्रबाट हुने अवैध गतिविधि नियन्त्रण गर्न सरकारकोे हालैको निर्णयले थप मद्दत पुगेको उहांँले जानकारी दिनुभयो।

सशस्त्र प्रहरी बलका प्रवक्ता प्रहरी नायब महानिरीक्षक सुरज श्रेष्ठका अनुसार यसअघिको सरकारले सीमा सुरक्षालाई व्यवस्थित गर्न सशस्त्र प्रहरी बलमा सीमा सुरक्षा विभाग गठन गरेको थियो।

सो विभागले सबै सीमाक्षेत्रको अनुगमन तथा व्यवस्थापन गर्दै आएकोमा पछिल्लो पटक सो विभाग नै खारेजीमा परेको थियो। अहिले सरकारले बीओपीको संख्या थप गरेपछि सो विभाग पुनः कायम रहने भएको छ।

सरकारले सीमा सुरक्षामा सशस्त्र प्रहरीलाई थप ठाउँंमा तैनाथ गर्ने भएपछि सशस्त्र प्रहरी बल यसअघि सुरक्षा दिँदै आएको विभिन्न ठाउंँबाट फिर्ता हुने भएको छ।

मुलुकका विभिन्न ११ वटा भन्सारको सुरक्षामा खटिएको सशस्त्र प्रहरी बललाई त्यहांँबाट हटाएर सीमा क्षेत्रमा खटाउने तयारी सरकारले गरेको छ।

त्यस्तै, सशस्त्र प्रहरी बलले १३ वटा औद्योगिक क्षेत्रको सुरक्षा गर्दै आएको आठ औद्योगिक सुरक्षा गुल्म पनि हट्ने भएको छ। काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर र पर्सामा रहेको औद्योगिक गुल्मलाई यथावत राख्ने र अन्य औद्योगिक गुल्म हट्ने भएको छ।

सशस्त्र प्रहरी बलले राजस्व संकलनमा सहयोग पुर्याउन स्थापना गरेको राजस्व गुल्ममा भने थोरै जनशक्ति राखिने भएको छ।सरकारले सशस्त्र प्रहरी बलमा जनशक्ति थप्नेतिर कुनै पहल नगरी सीमा सुरक्षामा एक सय १४ वटा बीओपी थप गर्ने निर्णय गरेका कारण पुरानो जिम्मेवारीबाट उसले हट्नुपरेको हो।