वटुकका कारण एक घण्टा ढिलो दीक्षान्त

0
Shares

ईश्वरराज ढकाल, काठमाडांै।

दीक्षान्त समारोहमा वेदको स्वस्तिवाचन मन्त्र पढ्ने वटुकहरू ढिलो आएपछि तोकिएको समयभन्दा करिब एकघण्टा ढिलो गरी त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोह शुरू भयो।

आयोजक कमिटीका सदस्य सचिव एवं त्रिभुवन विश्वविद्यालयका सह–परीक्षा नियन्त्रक पशुपति अधिकारीले महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) टेकप्रसाद राईलाई स्कर्टिङ गरेर भए पनि बटुकलाई कार्यक्रमस्थलमा ल्याउने व्यवस्था गर्न पटक–पटक आग्रह गर्नुभयो।

समयमै वटुकलाई बोलाउन नसक्ने आयोजकले एसएसपीलाई मात्र होइन महानगरीय प्रहरी प्रभाग पुल्चोकका प्रमुख प्रहरी निरीक्षक पूर्णिमा चन्दलाई समेत बाटो खाली गराइदिन आग्रह गर्नुभएको थियो।

दीक्षान्त समारोह भइरहँदा दीक्षित हुनुपर्ने विद्यार्थी गाउन लगाएर फोटो खिच्न व्यस्त थिए। कार्यक्रम सञ्चालन गरिरहेका रजिष्ट्रार डिल्लीराम उप्रेतीले पटक–पटक मुख्य कार्यक्रम बाँकी रहेकाले विद्यार्थीलाई आ–आफ्नो स्थानमा बस्न आग्रह गर्नुभएको थियो। उहाँको आग्रहलाई विद्यार्थीले वास्ता गरेका थिएनन्।

लगातार तीन वर्षदेखि इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकमा दीक्षान्त समारोह सञ्चालन भइसकेको छ। तर यो वर्ष विगतभन्दा भद्रगोल देखिएको छ।

सदस्यसचिव अधिकारीले धेरै विद्यार्थी भएपछि कहिलेकाहीँ यस्तो समस्या आउनसक्ने नेपाल समाचारपत्रलाई बताउनुभयो। यस वर्ष ७० हजार ७७ जना दीक्षित भए पनि समारोहमा १० हजार १ सय ८३ विद्यार्थी मात्र सहभागी थिए।
त्रिविले ५९ वर्षअघि २०१७ चैत ९ गते पहिलो दीक्षान्त समारोह आयोजना गरेको थियो।