प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपीट


मनिषा केसी, रुकुम (पश्चिम) ।

जिल्लाको आठविसकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत २८ वर्षीय रामबहादुर केसीमाथि सोही नगरपालिका –३ स्यालाखदीका २४ वर्षीय गोपाल विकले कुटपीट गरेका छन् ।

आठविसकोट –३ का वडाध्यक्ष २९ वर्षीय केशरमान विकको निर्देशनमा उहाँका भाई गोपालले बुधबार कार्यालयबाट कोठामा फर्कने क्रममा आफूमाथि आक्रमण भएको केसीले बताउनुभयो । गत आर्थिक वर्षमा वडाध्यक्षको नाममा सडक निर्माणको करिब २३ लाख रकम बेरुजू आएको र त्यसलाई असुल उपर गर्न आफू सक्रिय भएकोले त्यसैको रिसइबीका कारण आक्रमण भएको उहाँले आरोप लगाउनुभयो ।

धारिलो हतियारले आक्रमण गरेकोले केसीको टाउकोमा ठूलै चोट लागेपछि सोही दिन राती नै आठविसकोट नगर अस्पतालमा प्राथमिक उपचार गरी ५ वटा टाँका लगाइएको छ । आक्रमण गर्ने गोपाल विक फरार रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

उनका दाई वडाध्यक्ष केशरमानलाई भने बुधबार राती नै गिरफ्तार गरी मुद्दा प्रक्रिया अगाडि बढाईएको जिल्ला प्रहरी प्रमुख डीएसपी सुमित खड्काले बताउनुभयो । आक्रमणबाट प्रमुख प्रशासकीय अधिकृत केसीसँग कोठा फर्कँदै गरेका सूचना प्रविधि अधिकृत गणेश चन्दलाई पनि टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत केसीमाथि भएको आक्रमणको नगरपालिकाले भत्स्र्रना गरेको छ । नगर उपप्रमुख गीता नेपालीले विज्ञप्ति जारी गरी दोषीउपर कारबाहीको माग गर्नुभएको छ । प्रमुख प्रशासकीय अधिकृत केसीको दिन अघिदेखि नै पिछा गरेर केसीमाथि आक्रमण भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै आठविसकोट नगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीको तर्फबाट समेत अर्को विज्ञप्ती जारी गरी दोषीलाई कारवाही हुनुपर्ने र भयरहित वातावरणमा काम गर्ने वातावरणको सिर्जना गर्न माग गरिएको छ । दोषीमाथि कारबाही नभएसम्मका लागि पुस ३ गतेदेखि नगरपालिकाको कुनै पनि काम नगर्ने विज्ञप्तिमा उल्लेख छ ।