म्याग्दीका महिलाहरुलाई उद्घोषण तथा क्षमता अभिवृद्धि तालिम


प्रताप बानियाँ, म्याग्दी ।

म्याग्दी उद्योग वाणिज्य संघ अन्तर्गतको महिला उद्यम विकास समितिको आयोजनामा उद्घोषण तथा क्षमता अभिवृद्धि तालिम बेनीमा सम्पन्न भएको छ । महिलाहरुको व्यक्तित्व तथा नेतृत्व विकास गर्ने उद्देश्यसहित बेनी नगरपालिकाको सहयोगमा तालिम सञ्चालन गरिएको हो ।

तीन दिनसम्म सञ्चालन भएको तालिममा महिला उद्यम विकास समिति, लायन्स क्लब अफ म्याग्दी–दोभान, सौन्दर्यकला व्यवसायी संघ, महिला सहकारी, स्थानीय तहका महिला जनप्रतिनिधि, महिलाहरु आबद्ध संघसंस्था, ओम शान्ति र बेनी नगरपालिका अन्तर्गत हरेक वडामा क्रियाशिल आमा समूहका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । तालिममा म्याग्दीका ७० जना महिलाहरुले सहभागिता जनाएका थिए ।

उद्घोषणकला, व्यक्तित्व तथा नेतृत्व विकास र सकारात्मक सोचसम्बन्धी विषयमा सिकाइएको थियो । तालिमको नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य तथा अधिवक्ता सुस्मा पौडेलले सहजीकरण गरेकी थिइन् ।

तालिमको समापनसत्रमा बोल्दै बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले महिलाहरुको व्यक्तित्व तथा नेतृत्व विकासमा जोड दिइएको बताइन् । उनले हरेक क्षेत्रमा महिलाहरुको उपस्थिति बढाउन आवश्यक रहेकोमा जोड दिँदै महिलालक्षित कार्यक्रममा नगरपालिकामार्फत आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता जनाएकी छिन् ।

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले विकासमा महिला पुरुषको समान सहभागिता आवश्यक रहेको बताउँदै संघमार्फत सहयोग गर्ने बताए । प्रशिक्षक तथा अधिवक्ता सुस्मा पौडेलले तालिममा सिकेका ज्ञान, सिपलाई पूर्णरुपमा व्यवहारमा उतार्न सहभागीहरुलाई आग्रह गरेकी छिन् ।

महिला उद्यम विकास समितिका सभापति सुनिता केसीको अध्यक्षता, सहभागीद्वय गीता रिजाल र लक्ष्मी सापकोटा आचार्यको सञ्चालनमा सम्पन्न कार्यक्रममा धनमाया घतानेले अनुभव सुनाएकी थिइन् ।