सडक निर्माणमा सक्रिय गाउँपालिका



नेपाल समाचारपत्र, काभ्रे।

भुम्लु गाउँपालिकाले आर्थिक वर्ष २०७५–०७६ मा विनियोजन गरेका योजना तथा कार्यक्रमको प्रगति समीक्षा गर्दै चालू आर्थिक वर्षका लागि छनोट गरेका योजनाको कार्यान्वयन गर्ने तयारी गरेको छ। एक वर्षमा गाउँपालिकाले संघ, प्रदेश र स्थानीय सरकारको लगानीमा १८ वटा नयाँसडक निर्माण गरेको छ भने ३६ वटा सडकको स्तरोन्तति गरेको छ।

भुम्लु गाउँपालिका अध्यक्ष गुमानध्व कुँवरले गाउँपालिकाको प्राथमिकताका आधारमा योजनाको छनोट गरी कार्यान्वयन गरेको बताउनुभयो। गत वर्ष १ सय ८० वटा योजना तथा कार्यक्रम स्वीकृत भएका मध्ये १० करोड ३५ लाख ८४ हजारको १ सय ५६ वटा योजनाको कार्य सम्पन्न भएको अध्यक्ष कुँवरले बताउनुभयो।

छनोट भएका मध्ये २४ वटा योजना कार्यान्वयन हुन सकेनन्।प्रदेश सरकारबाट प्राप्त सशर्त अनुदानबापत सडक र खानेपानी योजनाको लागि प्राप्त १ करोड २० लाखका तीन वटा योजनाको कार्य सम्पन्न भएको छ। कृषि तथा पशु सेवा क्षेत्रअन्तर्गत कृषि विकास कार्यको लागि सशर्त अनुदानमा शतप्रतिशत भौतिक प्रगति भएको छ। 

गाउँपालिकाबाट विनियोजन गरिएको ५३ लाख ५० हजारबाट २४ वटा क्रियाकलाप सञ्चालन गर्ने लक्ष्य लिएकोमा २३ वटा क्रियाकलाप सम्पन्न भएका छन्। पशु सेवा क्षेत्रमा शतप्रतिशत कार्यक्रम सम्पन्न भएका छन्। पूर्वाधारहरू निर्माण तथा मर्मततर्फ भुम्लु गाउँपालिकामा गत वर्ष नयाँपुल एउटा निर्माण भएको छ भने एउटा पुलमर्मत भएको छ।

खानेपानी एकीकृत लिप्टिङ डिप र साना ठूला गरी ३१ वटा योजना सम्पन्न भएका छन्। सिँचाइ तथा साना सिँचाइ गरी ३१ वटा योजना सम्पन्न भएका छन्। वडा भवन मर्मत, मन्दिर, मलामी घर, तामाङ, सत्तल गरी १० वटा निर्माण भएका छन्। स्वास्थ्य क्षेत्रका अधिकांश कार्यक्रम सञ्चालन भए भने शैक्षिक क्षेत्रको सुधारका लागि विभिन्न कार्यक्रम आयोजना भएका छन्।

प्रधानमन्त्री आधुनिकीकरण कार्यक्रमअन्तर्गत विविध कार्यक्रम आयोजना गरिएको थियो। गाउँपालिकाले आन्तरिक स्रोत मजबुत बनाउने प्रयास गरेको छ। आर्थिक वर्ष २०७५–२०७६ मा रु १ करोड ६५ लाख ८७ हजार अनुमान गरिएकोमा ढुंगा, गिट्टी, बालुवाको ठेक्का लगाई प्राप्त राजस्व बाँडफाँडपछि आम्दानी ६ करोड गरेको छ।

अन्य सिफारिस दस्तुर नक्सापास दस्तुरबाट प्राप्त आम्दानी १ लाख ५३ हजार रुपियाँरहेको छ। गाउँपालिकाले राजस्व सुधार कार्ययोजना तयार गरी कार्य सञ्चालन गरेको छ। गाउँपालिकाले अघिल्लो वर्षको अनुभवका आधारमा योजनालाई प्राथमिकीकरण गरेको छ।

कृषिमा आधुनीकरण र यान्त्रीकरण, पूर्वाधार विकास, स्वास्थ्यमा सरल र सहज पहुँच, शिक्षाको गुणस्तर विकास, साझेदारी कार्यक्रम सञ्चालन, लैंगिक उत्तरदायी कार्यक्रम, युवा रोजगार कार्यक्रम, समतामूलक कार्यक्रम सञ्चालन, विपद् व्यवस्थापन कार्यक्रम रहेका छन्। योजनासँगै गाउँपालिकाले शान्ति सुरक्षा, भ्रष्टाचार नियन्त्रण र शासकीय सुधार, दिगो योजना छनोट सम्बन्धमा सरोकारवालालाई बुझाउन चुनौती रहेको निष्कर्ष निकालेको छ।

भौगोलिक विकटताका कारण योजनाको लागत बढ्नु, भौतिक पूर्वाधारको कमी, राजस्व बाँडफाँडबापतको रकम सिलिङअनुसार प्राप्त नहुुँदा कार्यक्रम कार्यान्वयनमा समस्या, आन्तरिक स्रोतलाई विविधीकरण गर्नु चुनौतीपूर्ण रहेको, कर्मचारी पदपूर्ति नहुनु, दक्ष जनशक्तिको अभाव जस्ता समस्याका कारण हरेक कार्यक्रममा शतप्रतिशत हुन नसकेको निष्कर्ष निकालेको छ।

प्रतिक्रिया दिनुहोस्