समाजवादको सारथि बन्न सहकारीलाई मन्त्री अर्यालको आग्रह

0
Shares

काठमाडौं, (नेस) ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारी क्षेत्रलाई एकीकृत ढँगले उत्पादन क्षेत्रमा लगानी गरी समाजवादको सारथि बन्न आग्रह गर्नुभएको छ ।

राष्ट्रिय सहकारी बैंकको आयोजनामा भइरहेको ‘कोअपरेटिभ लिडर्स नेशनल फोरम २०७६’ कार्यक्रममा बोल्दै देशको समृद्धिका लागि मुलुकभर छरिएर रहेका सहकारीहरूले एकीकृत र व्यवसायिक ढंगले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने कुरामा जोड दिनुभएको हो ।

मन्त्री अर्यालले भन्नुभयो–‘पूँजीको निमार्ण विना समाजवाद आउँदैन, त्यसैले सहकारीले पुजी निमार्ण गर्नुपर्छ र उत्पादनमा लगाउनुपर्छ, तब समाजवादको रेखा कोरिन्छ र सहकारी कर्मीले समाजवादको अभियान्ता भन्न पाउनुहुन्छ।’

मन्त्री अर्यालले आर्थिक समृद्धिलाई प्राथमिकताका राखेर सहकारीहरूले काम गर्नुपर्ने बताउनुभयो। सरकारले सबै सहकारीलाई उत्पादनमूलक क्षेत्रमा लगाउनेगरी आवश्यक कानुनको तर्जुमा गरिरहेको बताउँदै दिगो लक्ष्य हासिल गर्नका लागि बढी भन्दा बढी लगानी र व्यक्ति सहभागी भएर उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने कुरामा जोड दिनुभयो।

अबको दिशा समृद्धि र विकासकै दिशा भएको बताउदै सहकारी संस्थाहरू एकीकृत उत्पादनमा लाग्नुपर्ने उहाँको जोड थियो। त्यस्तै राष्ट्रिय सहकारी बैंकले पनि त्यस्तो क्षेत्रमा लगानी गर्न सुझाव दिनुभयो।

मन्त्री अर्यालले कृषि सहकारीमार्फत ठूलास्तरका कृषि फार्म तथा उद्योग सञ्चालन गर्ने वातावरण बनाइने बताउनुभयो। ‘सरकार सहकारीमा कानुनी बाधक बनेको पनि छैन र बन्दैन पनि, हामी फरक ढङ्गले सहकारीमार्फत विकासका काम गर्ने अभियानमा छौ’, उहाँले भन्नुभयो।

सहकारीकर्मीले पनि सहकारी कानुनमा रहेर सरकारको समृद्धिको यात्रामा साथ दिनुपर्ने उहाँको धारणा थियो।मन्त्री अर्यालले सरकार किसानमैत्री, सहकारीमैत्री भएर समृद्धिको अभियान चलाउने योजना बनाइरहेका बेला जमीनलाई फरक ढङ्गले सदुपयोग गर्दै अधिकतम उत्पादनमा लाग्न आग्रह गर्नुभयो।