वाणिज्य बैंकको सहयोगमा रक्तसञ्चार केन्द्र

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

नेपाल प्रहरी अस्पताल महाराजगन्जमा नवनिर्मित रक्तसञ्चार केन्द्र र फिजियोथेरापी रिहाविलिटेसन युनिटको बुधबारबाट सञ्चालनमा आएको छ। राष्ट्रिय वाणिज्य बैंकको सहयोगमा नवनिर्मित रक्तसञ्चार केन्द्रको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले संयुक्त रूपमा तथा फिजियोथेरापी रिहाविलिटेसन युनिटको प्रहरी महानिरीक्षक खनालले उद्घाटन गर्नुभएको थियो।

सो अवसरमा उक्त बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले प्रहरी महानिरीक्षक खनाललाई राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट सहयोग स्वरूप ४० लाख रुपियाँ बराबरको चेकसमेत हस्तान्तरण गर्नुभयो। समारोहमा प्रहरी महानिरीक्षक खनालले प्रहरी अस्पतालमा कार्यरत उत्कृष्ट प्रहरी कर्मचारीहरूलाई पुरस्कार वितरण गर्दै प्रहरीले कर्तव्य निर्वाहको क्रममा आइपर्ने जोखिमलाई न्यूनीकरण गर्न नवनिर्मित केन्द्र र युनिटले सहयोग पुर्याउने बताउनुभयो।

प्रहरी अस्पतालले प्रदान गर्ने सेवाको गुणस्तरमा अझै वृद्धि गर्न प्राप्त साधन–स्रोत थप उपयोगी हुने उहाँले उल्लेख गर्नुभयो। नेपाल प्रहरी अस्पतालले बाढी, पहिरो लगायतका विषम परिस्थितिमा समेत समुदायमा गएर प्रदान गर्दै आएको सेवा अत्यन्तै प्रशंसनीय रहेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले उपचार सेवालाई थप प्रभावकारी बनाउन इमानदारिता, लगनशीलता र एकजुट भई अगाडि बढ्न नेपाल प्रहरी अस्पतालमा कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो।

राष्ट्रिय वाणिज्य बैंकले एटीएम सञ्चालन, समुदाय–प्रहरी साझेदारी कार्यक्रममा पुर्याएको सहयोग लगायतका कार्य उच्च प्रशंसनीय रहेको बताउँदै अन्य विविध कार्यक्रममा सहयोग र समन्वय हुने विश्वास उहाँले व्यक्त गर्नुभयो।

समारोहमा उक्त बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल प्रहरीलाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै नेपाल प्रहरीसँग थप अन्य क्षेत्रमा समेत सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा.दुर्गा थापाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त समारोहमा अस्पतालका डेपुटी मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी नायव महानिरीक्षक डा.मिनराज पाठकले धन्यवाद ज्ञापन गर्नुभएको थियो।

रक्तसञ्चार केन्द्र स्थापनाले अस्पतालमा उपचाररत विरामीलाई आवश्यक रगत चौबिसै घन्टा सुलभ आपुर्ति हुने, इच्छुक रक्तदान प्रक्रियामा सहजता र व्यवस्थापन हुने तथा अन्य अस्पतालका विरामीलाई समेत रगत उपलब्ध गराई सामाजिक सेवामा समेत नेपाल प्रहरी अस्पतालको भूमिका प्रभावकारी हुने विश्वास गरिएको छ।

आधुनिक चिकित्सा विधिबाट उपचार हुने फिजियोथेरापी प्रविधि हो र रिहाविलिटेशन युनिटको सेवाबाट घाइते, दीर्घरोग लागेका र शारीरिक रूपमा अशक्त विरामीले छिटो भन्दा छिटो शारीरिक लाभ प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ।