दुई हवाईजहाज सेनालाई हस्तान्तरण

0
Shares

काठमाडौ, (नेस)।

प्रधानसेनापति पूर्णचन्द्र थापाको उपस्थितीमा मध्य एयर बेश गौचर ब्यारेकमा एक विशेष समारोहका बीच संयुक्त राज्य अमेरिकाद्वारा सहयोग स्वरूप नेपाली सेनालाई प्राप्त एम–२८ स्काईट्रक २ वटा हस्तान्तरण गरेको छ।

उक्त हस्तान्तरण समारोहमा सो स्काई ट्रकको ‘प्रतिकृति’ नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरीले नेपाली सेनाका बलाधिकृत रथी शरदकुमार गिरीलाई हस्तान्तरण गर्नु भएको थियो।

उक्त हस्तान्तरण कार्यक्रमको शुभारम्भमा सैनिक हवाई महानिर्देशनालयका निमित्त महानिर्देशक पाइलट सहायक रथी धनेन्द्रबहादुर शाहले स्वागत मन्तव्य राख्नु भएको थियो भने अमेरिकी महामहिम राजदूत बेरीले आफ्नो मन्तव्य राख्नुहुँदै यो सहयोगले नेपाली सेनाका लागि नेपालको मानवीय सहायता तथा विपद् प्रतिकार्य सञ्चालन क्षमतामा ब्यापक रूपान्तरण ल्याउने तथा नेपालको दीर्घकालिन दिगोपन, सुरक्षा र उत्थानशीलतालाई सशक्त बनाउनका लागि हाम्रो दुई देशबीचको सहकार्य तथा निकट साझेदारी प्रदर्शन भएको बताउनु भएको थियो।

सोही अवसरमा प्रधानसेनापति थापाले यस प्रकारको सहयोगले विपद् व्यवस्थापनमा नेपाली सेनाको कार्यदक्षता अभिबृद्धि गर्न थप मद्दत पुग्ने एवं सहयोगको लागि मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाप्रति हार्दिक कृतज्ञता व्यक्त गर्नु भएको थियो।

साथै, भविष्यमा पनि दुई देश र सेनाका बीचमा हुने यस्ता किसिमका सहकार्यले थप मद्दत पुग्ने विश्वाससमेत व्यक्त गर्नु भएको थियो।
उक्त हस्तान्तरण कार्यक्रममा संयुक्त राज्य अमेरिकाका लागि नेपाली महामहिम राजदूत डा.अर्जुनकुमार कार्की, नेपाली सेनाका बलाध्यक्ष रथी गौरव तण्डुल लगायतको उपस्थिती रहेको थियो।