अपहरण आरोपमा ५ जना पक्राउ

0
Shares

हेटौंडा, (नेस)।

अपहरण गरी बन्धक बनाएको आरोपमा मकवानपुर प्रहरीले ५ जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–९, लामसुरे बस्ने सरस्वती तामाङ, काठमाडौं महानगरपालिका–३, पुरानो बानेश्वर बस्ने आशिष सिजापती छन्।

कञ्चनपुरको श्रीपुर गाविस–६ बस्ने सुनिता धामी र धादिङ नेत्रावती ढुस्जु गाउँपालिका–६ घर भएका आशिक लामा पनि पक्राउ परेका छन्।

उनीहरूलाई रामेछापको दोरम्बा–५ बस्ने नरेश थापा मगरलाई बन्धक बनाएर हेटौंडामा राखेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी मुकेशकुमार सिंहले जानकारी दिनुभयो।

बुधबार विहान करिब ३ः३० बजे हेटौंडा–४ स्थित बा. २ ज ५९५ नम्बर ट्याक्सी अमलेखगन्जबाट काठमाडौं जान लाग्दा बा. २ ज ५३५६ नम्बर ट्याक्सीमा आएका सिजापती, धामी, गुरुङ, ट्याक्सीचालक लामाले बा. २ ज ५९५ नम्बर ट्याक्सीमा सवार मगरलाई कुटपिट गरी घाइते बनाएका थिए।

बा. २ ज ५९५ नम्बर ट्याक्सी रोकी ट्याक्सीमा सवार काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नपा–९ बस्ने सरोज सापकोटालाई कुटपिट गरी घाइते बनाइएको थियो।

सोही ट्याक्सीका यात्री रामेछापको दोरम्बा–५ बस्ने थापा मगरलाई अपहरण गरी बा. २ ज ५३५६ नम्बर ट्याक्सीमा राखी हेटौंडा–९, लामसुरे बस्ने तामाङको घरमा वन्धक बनाइएको थियो।

विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले दिउँसोे अपहरितलाई सकुशल मुक्त गरी अभियुक्तहरूलाई पक्राउ गरेको मकवानपुरका एसपी सिंहले बताउनुभयो।