शीतलहर : सुधार अनिश्चित

0
Shares

टीका बन्धन, काठमाडौं।

बाक्लो हुस्सु र शीतलहरका कारण तराईका अधिकांश भेगको जनजीवन प्रत्यक्ष प्रभावित भएको छ। कठ्याङ्ग्रिँदो चिसोका कारण झापादेखि कैलालीसम्मका तराईका सबै जिल्ला प्रभावित छन्।

धेरै दिनसम्म घाम नलाग्नु, निरन्तर बाक्लो कुइरो लाग्नु, पानी परेझैं शीतका थोपा खस्नु र तापक्रम खस्किएर कठ्याङ्ग्रिने गरी जाडो हुनु नै शीतलहरको संकेत हो।

नवलपरासीदेखि पश्चिमतर्फका तराईका भेगमा शीतलहरको असर प्रस्ट देखिएको र यस्तो असर मध्य तराईदेखि पूर्वतर्फ सर्ने क्रममा रहेको मौसमविद् बताउँछन्। मंगलबार बिहानदेखिको बाक्लु हुस्सु र शीतलहरले नेपालगन्ज, कैलाली र आसपासका जिल्ला प्रत्यक्ष प्रभावित भएका छन्।

बुधबार बिहान आंशिक प्रभाव मात्रै रहे पनि दिउँसो भने शीतलहरको प्रस्ट असर देखिएको नेपालगन्ज, राझाँस्थित हावापानी फिल्ड कार्यालयले जनाएको छ। ‘बिहान त्यस्तो ठूलो असर देखिएको थिएन, आज दिउँसो भने पानी परेझैं शीतलहर चल्यो, त्यसैले अहिले चिसो निकै बढेको छ।’ –सो कार्यालयका प्रमुख प्रकाश विश्वकर्माले बुधबार साँझ भन्नुभयो।

गत सोमबार नेपालगन्ज र आसपासको अधिकतम तापक्रम २३ डिग्री सेल्सियस रहेकोमा मंगलबार घटेर १५ डिग्री पुगेको थियो भने बुधबार १३ दशमलव २ डिग्री मापन भएको उहाँले जानकारी दिनुभयो।

तराईका भू–भागमा निरन्तर ४८ घन्टा वा सोभन्दा बढी अवधिसम्म घाम नदेखिने अवस्था बनेको खण्डमा त्यस्तो अवस्थालाई मौसमविद्हरू शीतलहरका रूपमा बुझ्ने गर्छन्।

निरन्तरको बाक्लो हुस्सुसँगै औषत तापक्रम एकैदिन १० डिग्री हाराहारीमा झरेको अवस्थामा शीतलहर घोषणा गर्ने गरिन्छ। बाक्लो हुस्सुका कारण कर्णाली प्रदेशको मुख्यालय सुर्खेत र आसपासका भेगमा मंगलबारदेखि मौसम प्रभावित बनेको छ।

मौसमका कारणले हवाई भिजिबिलिटी घटेपछि बुधबार काठमाडौं–पोखरा र काठमाडौं–सुर्खेतको हवाई सेवा प्रत्यक्ष प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ब्रिफिङ शाखाले जनाएको छ।

शीतलहरका कारण धनगढी र आसपासका भेगमा समेत तापक्रम निकै खस्किएको अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयले जनाएको छ।

सो भेगमा सोमबारको अतिकतम तापक्रम २२ दशमलव ८ डिग्री सेल्सियस मापन भएकोमा मंगलबार घटेर १५ दशमलव २ र बुधबार दिउँसो १३ दशमलव ५ डिग्री मापन भएको छ।

कैलाली र धनगढी आसपासमा शीतलहरको प्रत्यक्ष असर नदेखिए पनि दुई दिनयता मौसम पूरै प्रभावित बनेको अत्तरिया फिल्ड कार्यालयका मौसम विज्ञान सहायक सिंगल चौधरीले जानकारी दिनुभयो।

गत साताको हिउँदको प्रभावले अहिले शीतलहरको असर देखापर्न थालेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। काठमाडौंलगायत अन्यत्रको पनि तापक्रम खस्किन थालेको छ।

बुधबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम ३ दशमलव ५ डिग्री मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जुम्लाको न्यूनतम तापक्रम माइनस ६ दशमलव ५, जिरीको माइनस १ दशमलव ६, जोमसोमको १ मापन भएको छ भने डडेलुधरा, ओखलढुंगा, ताप्लेजुङ, लुम्लेलगायतका भेगको न्यूनतम तापक्रम ५ डिग्री पुगेको महाशाखाको तथ्यांक छ।

शीतलहर र बाक्लो हुस्सु खुल्न पश्चिमी वायु सक्रिय बन्नुपर्ने मौसमविद् बताउँछन्। भोलि शुक्रबार पश्चिमी वायु सक्रिय बन्ने संकेत विकास भए पनि सोही वायुले अहिलेको मौसमी अवस्था सुधार्ने सुनिश्चित भने नभएको महाशाखाकी मौसमविद् शान्ति कँडेल बताउनुहुन्छ।

‘शुक्रबार एउटा सानो सिस्टम आउँदै छ, तर त्यसैले शीतलहर खुलाउँछ भन्नेमा हामी ढुक्क भइसकेका छैनौं।’ –उहाँले भन्नुभयो।
मध्य हिउँदयाममा भारतको गंगा नदी र यसका सहायक नदी भू–भागको ‘इन्डोङ्गेटिभ प्लेन’, भारतसँग सीमा जोडिएका नेपालका तराईका भेग र बंगलादेशका धेरै भेगमा शीतलहरको प्रभाव दोहोरिन थालेको छ।

अहिले मध्य र पूर्वी तराईमा बाक्लो हुस्सुको प्रभाव देखिन थाले पनि शीतलहरका रूपमा बुझ्न हतार हुने महाशाखाकी अर्की मौसमविद् विभूति पोखरेलको बुझाई छ। अहिलेको शीतलहरको प्रभाव कति लामो अवधिसम्म रहन सक्छ भनेर पूर्वानुमान गर्ने उपकरण र संयन्त्र महाशाखामा छैन।