राष्ट्रिय सभा सदस्यको मतदान माघ ९ मा

कांग्रेसले ६ सिट गुमाउने संकेत

0
Shares

सुनील महर्जन, काठमाडौं।

राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि यही पुस २० गते उम्मेदवारी दर्ता हुने भएको छ।निर्वाचन आयोगले बुधबार चुनावी कार्यक्रम सार्वजनिक गर्दै पुस १७ गते मतदाता नामावली प्रकाशन गरिने जनाएको छ। ७ सय ५३ स्थानीय तहका प्रमुख र उपप्रमुख तथा ५ सय ५० प्रदेशसभा सदस्य राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदाता रहनेछन्।

उनीहरूको मतभार भने फरक–फरक हुन्छ। स्थानीय तहका पदाधिकारीले दिने मतको भार १८ छ भने प्रदेशसभा सदस्यको ४८ हुनेछ। प्रकाशित नामावलीको दाबी र विरोध गर्ने पनि सोही दिन तोकिएको छ। उजुरीउपर छानबिन गरी अन्तिम नामावली पुस १८ गते प्रकाशित गरिनेछ।

कार्यक्रमअनुसार २० गते उम्मेदवारी दर्ताको समय तोकिएको छ। मनोनयन दर्ता भएका उम्मेदवारको नामावली पनि सोही दिन प्रकाशित गरिनेछ। त्यसै गरी २१ गते उम्मेदवारको विरोधमा उजुरी दिने र २२ गते मनोनयन र उजुरीउपर छानबिन गरी निर्णय गर्ने, २३ गते नामावली प्रकाशन गर्ने कार्यक्रम तय गरिएको छ।

२४ गते उम्मेदवारको नाम फिर्ता गर्ने प्रक्रिया पूरा गरेपछि २५ गते उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरिनेछ। त्यही दिन निर्वाचन चिह्न प्रदान गरिनेछ। मतदान भने माघ ९ गते हुनेछ।

प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएका व्यक्ति उम्मेदवार बन्न नपाउने पनि आयोगले जनाएको छ। तर, नाम समावेश भए पनि कानुनी प्रक्रियाबमोजिम हटेको व्यक्ति उम्मेदवार हुन बाधा नहुने बताइएको छ।

राष्ट्रिय सभामा नेकपाका आठ, कांग्रेसका सात र राजपाका दुई, समाजवादीका एक जना र सरकारबाट मनोनित एक जना गरी १९ सांसदको दुईवर्षे कार्यकाल फागुन २१ मा सकिँदै छ। संविधानअनुसार सदस्य पद रिक्त हुनुभन्दा ३५ दिनअघि निर्वाचन भइसक्नुपर्छ।

रिक्त १९ सदस्यमध्ये १८ जना निर्वाचनको माध्यमबाट चयन हुनेछन्। एक जना भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुनेछन्।

राष्ट्रिय सभाका सदस्यको पहिलोपटक एक तिहाइ सदस्यको पदावधि दुई वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको छ वर्षमा पदावधि समाप्त हुने व्यवस्था रहेको छ।

राष्ट्रियसभाका सदस्यको निर्वाचन एकल संक्रमणीय प्रणालीबाट हुनेगरेको छ। एक क्लस्टरमा एकजना मात्र निर्वाचित गर्नुपर्ने भएकाले प्रदेशसभा र स्थानीय तहमा जसको बहुमत छ, त्यही पार्टीले जित्ने निश्चित छ।

यस अघि तीनजना निर्वाचित हुने बेला दुईजना नेकपामा जित्दा एकल संक्रमणीय प्रणालीका कारण कांग्रेसले तेस्रो सिट जितेको थियो। यसपटक प्रत्येक क्लस्टरमा एक सिटको लागि मात्र चुनाव हुनेछ। त्यसैले ६ वटा प्रदेशमा कांग्रेसले ६ सिट गुमाउने निश्चितजस्तै छ।

नेकपा–राजपा सहमति

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी र राष्ट्रिय जनता पार्टीबीच राष्ट्रिय सभाका चार सांसद भागवण्डा गर्ने सहमति भएको छ। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि दुई पार्टीबीच दुईबुँदे सहमति भएको हो।

सहमतिअनुसार प्रदेश नम्बर २ मा रिक्त हुने चार स्थानमध्ये २ मा राजपा र २ मा नेकपाले लिने गरी सहमति भएको छ। नेकपाले महिला र दलित पुरुषतर्फ र राजपाले अन्य पुरुष समूह र अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समूहको स्थानमा रिक्त रहेको ठाउँमा आफ्नो सांसद बनाउने सहमतिमा उल्लेख छ।

यसअघि संविधान संशोधन गर्न तयार नभएको भन्दै राजपाले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो।

नेकपा र राजपाबीच सम्बन्ध चिसिएको बेला राष्ट्रिय राजनीतिका बारेमा छलफल गर्दै जाने सहमतिले राजपा सरकारमा जान सक्ने ढोका खोलेको छ।

नेकपा र राजपाबीच समसामयिक राष्ट्रिय राजनीतिका बारेमा छलफल गर्ने र सहकार्यको प्रक्रिया अघि बढाउने पनि सहमति भएको छ। सहमतिपत्रमा नेकपाका अध्यक्षद्वय केपी शर्माओली र पुष्पकमल दाहाल प्रचण्ड तथा राजपाका तर्फबाट संयोजक राजेन्द्र महतोले हस्ताक्षर गर्नुभएको छ।

राजपाका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले दुई बुँदे सहमतिले सकारात्मक वातावरण बनाएको नेपाल समाचारपत्रलाई बताउनुभयो। राजपा सरकारमा सहभागी हुन लागेको हो भन्ने जिज्ञासमा यादवले भन्नुभयो,‘वातावरण राम्रो बनेको छ, छलफल गर्दै जाउँ के हुन्छ।’