चोरिएका गरगहनासहित एकजना पक्राउ


न्युज अफ नेपाल, हेटौंडा ।

हेटौंडामा प्रहरीले चोरिएका सामानसहित एक जनालाई पक्राउ गरेको छ ।

मंगलबार राति करिब पौने ३ बजे हेटाैंडा उपमहानगरपालिका–४ स्थित गौरीकुमार मैनाली बस्दै आएको घरमा चोरी भएको खबर प्राप्त हुनासाथ तत्काल खटिएको प्रहरीले अभियुक्त पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय तथा वडा प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएर चोरी गरी भाग्दै गरेको अबस्थामा हेटौंडा–४ स्थित सडकखण्डबाट अभियुक्त पक्राउ गरेको हो ।

हेटाैंडा उपमहानगरपालिका वडा नम्बर–८ बस्ने वर्ष १८ का साजन पराजुलीलाई चोरी गरिएका सुनका गरगहना र ल्याप्टपसहित करिब ७ लाख ६१ हजार बराबरका सामानसहित पक्राउ गरिएको जिप्रकाले जनाएको छ ।

उनलाई मकवानपुर जिल्ला अदालतबाट चोरी मुद्धामा म्याद थप गरी आवश्यक अनुसन्धान तथा कारबाही भइरहेको जनाइएको छ ।