लायन्सद्धारा अस्पताललाई ३५ लाखको स्वास्थ्य उपकरण हस्तान्तरण


अमृत अर्याल, स्याङजा ।

सामाजिक सेवामा समर्पित लायन्स क्लव अफ स्याङ्जाको पहलमा जिल्ला अस्पताल स्याङजालाई ३५ लाख रुपैंया बराबरको स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ ।

लायन्स क्लव अफ काठमाण्डौं ३२५ वी वान र लायन्स क्लव अफ स्याङजाको संयुक्त समन्वयमा जिल्ला अस्पताल स्याङजालाई ती उपकरणहरु उपलब्ध गराइएको हो ।

पुतलीबजार नगरप्रमुख सीमा क्षेत्रीे र लायन्स क्लव अफ ३२५ बी वानका सेकेन्ड भिडीजी विश्वेश्वर आचार्यद्धारा अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष लोकराज शर्मालाई अस्पतालमा आयोजित कार्यक्रम मार्फत ती उपकरणहरु हस्तान्तरण गरिएको छ ।

सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै नगर प्रमुख क्षत्रीले अस्पताल सुधारोन्मुख रहेको बताउँदै आम नागरिकलाई लक्षित गर्दै अस्पतालले धेरै सेवा र सुबिधा उपलब्ध गराउँदै आएकोे बताउनुभयो ।

अस्पताललाई उपलब्ध ती सामाग्रीको सही सदुपयोग गर्दै लक्षित बर्गले लाभ लिन पाउने वातावरण बनाउन अस्पताल परिवारलाई सुझाव दिनुभयो । जिल्लाको अस्पताल पुतलीबजार नगरभित्र रहेको हुँदा नगरपालिकाले अस्पतालको अन्य थप सुबिधा र आवश्यकतालाई ध्यान दिदै सहयोग गर्न तयार रहेको प्रमुखको भनाई छ ।

कार्यक्रममा लायन्स विश्वेश्वर आचार्य, पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्मा, लायन्स जोन चियरपर्सन रामचन्द्र पोखरेल, डिस्ट्रिक कमिटी पर्सन वालिङका चेतनारायण श्रेष्ठ, पुतलीबजार लायन्सका अध्यक्ष श्रीबहादुर गुरुङ, डा. नारायण गोदार, अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष लोकराज शर्मा लगायतले समाजसेवामा समर्पित लायन्स क्लवका बारेमा जानकारी गराउँदै फजुल खर्च घटाउदै सेवामूलक काममा सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

लायन्स क्लव अफ स्याङजाका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रथम उपाध्यक्ष धुवबन्धु पौडेलले संचालन गर्नुभएको थियो ।

इटाली सरकार डे वान हेल्थ अमेरिकाको सहयोगमा उपलब्ध गराइएको ती स्वास्थ्य उपकरणको मूल्य झण्डै ३५ लाख मूल्य बराबर रहेको ‘पढाउ अभियान’ का चण्डीप्रसाद अर्यालले जानकारी दिनुभयो ।

झण्डै एक दर्जन भन्दा बढी प्रकारका ती स्वास्थ्य उपकरण नवजात शिशुमा हुने जन्डीस, श्वासप्रश्वास समस्या र न्यूमोनियाको संक्रमणबाट वचाउन बहुउपयोगी हुने रिजनल चियरपर्सन कुलचन्द्र शर्माले बताउनुभयो ।