दराज अनलाइनको उपभोक्ता ठगी जारी

उपभोक्ता मञ्चद्वारा कारबाहीको माग

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

पटक–पटक उपभोक्तालाई ठगी गर्दै आएको आरोप लाग्ने दराज अनलाइनमाथि अर्को पटक उपभोक्ता ठगी गरेको आरोप लागेको छ।

‘दराज अनलाइनमाथि आवश्यक
कारबाहीका लागि अनुसन्धान भइरहेको छ।’
नेत्रप्रसाद सुवेदी
महानिर्देशक
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग

कहिले बढी शुल्क असुल्ने त कहिले गुणस्तर नै नभएको वस्तु बिक्री गर्दै उपभोक्तालाई ठगी गर्दै आएको सो अनलाइन सपिङ कम्पनीले उपभोक्तालाई टुटेफुटेको सामान बिक्री गरेको भन्दै राष्ट्रिय उपभोक्ता मञ्चले कारबाहीको माग गरेको छ।

कम्पनीले ललितपुरका विपिन महर्जनलाई ६ सय ५० रुपियाँमा बिक्री गरेको हार्ड डिस्क ड्राइभ ३.१ को कभर टुटफूट भएको पाइएको भन्दै मञ्चले कारबाही माग गरेको हो।सामान टुटफुट भएको बारे कम्पनीलाई जानकारी गराउँदा कम्पनीका कर्मचारीले सामान साट्न नमिल्ने भन्दै पन्छिएको बताइएको छ।

कम्पनीले यसअघि विभिन्न उपभोक्तालाई बढी मूल्यमा घडी बिक्री गरेको तथा प्रेसर कुकरमा पनि ठगी गरेको गुनासो आएको थियो। सो अनलाइन कम्पनीले गरेको ठगी भन्दाबारे पटक–पटक सञ्चारमाध्यमले समाचार प्रकाशन गरे पनि सम्बन्धित निकायले भने खासै चासो दिएका छैन।

राष्ट्रिय उपभोक्ता संरक्षण मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले उपभोक्ताको हक अधिकारको संरक्षणका लागि आफूहरू सदैव लागिरहने बताउँदै आफूहरूले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा पत्रचार गरेको नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

उहाँले भन्नुभयो–‘हामीले पत्र मंसिर ३० गते दिएका हौं।’ दराज अनलाइनले ठगी गरेको पुष्टि भएकाले उसमाथि कारबाहीको माग गर्दै पत्र दर्ता गराएको उहाँले बताउनुभयो।उहाँले दराज अनलाइनले गैरकानुनी काम गरेको पाइएको बताउँदै यथाशीघ्र नियन्त्रण गर्नुपर्नेमा विभागको ध्यानाकर्षण गराउनुभयो।

मंसिर ३० गते मञ्चले विभागलाई लेखेको पत्रमा दराज अनलाइनले सुरक्षात्मक व्यवस्थाबमोजिम पालना गर्नुपर्ने शर्तहरू पालना नगरेको पाइएको उल्लेख गरिएको छ।यता विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले मञ्चको निवेदन आइसकेकाले यसबारे थप अनुसन्धानमा आफूहरूअघि बढ्ने बताउनुभयो।

नेपाल समाचारपत्रसँग कुरा गर्दै उहाँले दराज अनलाइनमाथि आवश्यक कारबाहीका लागि अनुसन्धान भइरहेको उल्लेख गर्नुभयो।