काठमाडौं, (नेस)।
नेकपाको सचिवालमा महिलाको सहभागिता छैन। पार्टीभित्र समावेशीको कुरालाई जोडदाररूपमा उठाएको बताउँदै स्थायी समिति सदस्य पम्फा भुसालले सचिवालयमा दुई महिलाको प्रतिनिधित्वको मागसहित आफूले विधान संशोधन प्रस्ताव गरेको बताउनुभयो। हाल नेकपाको ४५ जना सदस्यीय स्थायी समितिमा पनि २ जना मात्रै महिला रहेका छन्।
भुसालले ९ सदस्यीय सचिवालयलाई बढाएर २ महिला थपी १५ सदस्यीय बनाउनुपर्ने प्रस्ताव गरिएको नेपाल समाचारपत्रलाई बताउनुभयो। पार्टीभित्रको नेतृत्व तहमा महिला समावेशितालाई ध्यान नदिएको बताउँदै उहाँले पार्टी नेतृत्व तहमा अनिवार्य महिला सहभागिता बढाउनुपर्ने माग गर्नुभयो।
महिला नेतृत्वको सहभागिता सुनिश्चित गर्न स्थायी समितिको बैठकमा विधान संशोधनको प्रस्ताव लिखितरूपमा नै पेस गरेको भुसालले जानकारी दिनुभयो। मंगलबारको स्थायी समितिको बैठकमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि नेताहरूले आ–आफ्नो धारणा राखेका छन्।
प्रवक्ता श्रेष्ठका अनुसार राजनीतिक प्रतिवेदनमा प्रस्तुत भएबमोजिम पार्टी एकतालाई अझ सुदृढीकरण गर्नुपर्ने, पार्टीको कार्ययोजना ठोस र व्यवस्थित हुनुपर्ने, सरकारको काम अझ प्रभावकारी हुनुपर्नेजस्ता सुझाव आएका छन््।











प्रतिक्रिया