सरसफाई केन्द्र संचालनमा


अमृत अर्याल, स्याङजा ।

स्याङ्जाको भीरकोट नगरपालिकाले स्थापना गरेको सरसफाई केन्द्रको एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । सरसफाई केन्द्र तथा फोहरका रुपमा फालिने बस्तुहरु समुदायबाट खरिद गरेर संकलन गर्ने कार्यको शुभारम्भ गर्दैै भीरकोट नगर प्रमुख छायाराम खनालले फोहरलाई मोहरमा परिणत गर्ने कार्यको थालनी भएको बताउनु भयो ।

धेरै नगरपालिकाहरुमा फोहरमैला चुनौतिको रुपमा रहेका बेला भीरकोट नगरपालिकाले पनि फोहरमैला संकलन पश्चात त्यसको वर्गीकरण गरी बिक्री वितरण गरेर आर्थिक लाभ लिन थालेको नगर प्रमुख खनालले बताउनुभयो । नगरपालिकाले कुहिने÷नकुहिने तथा शिसाजन्य बस्तुहरु संकलन गरेर हालै निर्माण सम्पन्न भएको सरसफाई केन्द्रमा लगेर बर्गीकरण गर्न थालेको हो ।

“फोहोर मैलाको पुनः प्रयोग गर्न सकेको खण्डमा त्यो फोहर नभई आम्दानीको स्रोत हो” नगर प्रमुख खनालले भन्नुभयो, “अब भीरकोट नगरबासीले घर घरमा फोहरको वर्गीकरण गरेर छुट्टाछुट्टै राख्नुहोस् नगरपालिकाको गाडी आएर लैजान्छ ।” नगरपालिकाको मात्रै प्रयासले भीरकोट सफा नहुने भएकाले नगरबासीको पनि सहयोग आवश्यक रहेको नगर प्रमुख खनालले बताउनुभयो । नगर प्रवक्ता दिपेन्द्र केसीको स्वागतसँगै शुरु भएको उद्घाटन समारोह नगर प्रमुख छायाराम खनालको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन योजना अधिकृत यामप्रसाद रेग्मीले गर्नु भएको थियो ।

यसैबीच भीरकोट नगरपालिका १ गजौदीमा रहेको माझीबस्तीमा छलफल एवं अन्तरक्रिया गरिएको छ । ‘गरीबसँग मेयर’ कार्यक्रम अन्तर्गत माझी समुदायको बस्तीमा नमूना कृषि फर्म सञ्चालन गरी रोजगारी सिर्जना गर्ने विषयमा अन्तरक्रिया गरिएको हो । अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख छायाराम खनालले गरीब तथा विपन्न परिवारको जीवनस्तर माथि उकास्नका लागि सीप र अवसर प्रदान गर्न नगरपालिका प्रतिबद्ध रहेको बताउँदै माझी समुदायलाई लक्षित गरी कार्यक्रम ल्याएको उल्लेख गर्नुभयो ।

नमूना कृषि फर्म सञ्चालनका लागि उक्त समुदाय स्वयंले सञ्चालन गर्ने वा नगरपालिकाले सञ्चालन गर्ने फर्ममा जागिरको रुपमा के गर्न सकिन्छ भन्ने विषय छान्ने अवसर दिईएको भीरकोट नगरपालिकाले जनाएको छ । ‘गरीबसँग मेयर’ कार्यक्रमबाट आर्थिक अवस्था कमजोर रहेका विपन्न परिवारहरुको आर्थिक अवस्था सुदृढिकरणका लागि उपयोगी हुने नगर प्रवक्ता दिपेन्द्र केसीले बताउनु भयो ।